News

कांग्रेसमा वाक युद्धः महामन्त्रीलाई परराष्ट्र मन्त्रीले दिए कडा जवाफ

कांग्रेसमा वाक युद्धः महामन्त्रीलाई परराष्ट्र मन्त्रीले दिए कडा जवाफ

परराष्ट्रमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता एनपी साउदले महामन्त्री गगन थापालाई लक्षित गर्दै सभापति शेरबहादुर देउवा पाँच/पाँचपटक प्रधानमन्त्री भाग्यले नभई योग्यताले भएको जवाफ फर्काएका छन्।

अछामको चौरपाटीमा आइतबार आयोजित एक कार्यक्रममा उनले देउवा भाग्यले प्रधानमन्त्री भएको भन्ने टिप्पणीको प्रतिवाद गरेका हुन्। ‘धेरै मान्छेले भन्छन् शेरबहादुर देउवा भाग्यले प्रधानमन्त्री भएका हुन्। उहाँ भाग्यले प्रधानमन्त्री हुनुभएको होइन’, साउदले भने, ‘तपाईं कसैले पाउनुहुन्छ ५ पटक लट्री परेको मान्छे? कहीँ ५ पटक एकै मान्छेलाई लट्री पर्छ?  शेरबहादुर देउवा भाग्यले होइन, योग्यताले प्रधानमन्त्री हुनुभएको हो, पार्टीको विचारले हुनुभएको हो।’ 

यसअघि शनिवार कांग्रेस महामन्त्री गगनकुमार थापाले एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादीजस्ता पुराना पार्टीहरु आज एकसाथ संकटमा पर्न गएको उल्लेख गरेका थिए।

नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले डेमोक्रेसीमा एउटै व्यक्ति पटक पटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको दावी समेत गरे । ‘संसारमा एउटा त्यस्तो देश मलाई बताइदिनुस्, जुन देशमा व्यक्ति, एउटा नेता ५ पटक, ६ पटक प्रधानमन्त्री भएको होस् । कहीँ हुँदैन । कुनै डेमोक्रेसीमा हुँदैन’ थापाले भनेका थिए ‘नेपालमा आज कांग्रेस, एमाले, माओवादी पार्टी सबै एकसाथ संकटमा पर्नुको थुर्पै कारण मध्येको मूल कारण भनेको ती पार्टीको नेताहरु खासगरी पार्टीहरु जमेको पोखरी जस्तो भयो ।’  

उनले कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको घोषणा गरे । दाग लागेको कांग्रेसको महामन्त्री बन्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको उनको भनाई थियो । महामन्त्री थापाले कांग्रेस बदलिए मात्रै देश बदलिने भएकाले कांग्रेस बदल्ने अभियानमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका थिए ।
 

विशेष