News

सुन तस्करीमा अर्का ब्यापारी जोडिए, छद्म नाममा तस्करी गरेको आशंका

सुन तस्करीमा अर्का ब्यापारी जोडिए, छद्म नाममा तस्करी गरेको आशंका

एक क्विन्टल सुन तस्करी प्रकरणमा अर्का एक छदम ब्यापारी राजश्व अनुसन्धान विभागको सूचिमा परेका छन्। हङकङ हुँदै नेपाल भित्रिएको सय किलो सुनको मालिक खोज्ने क्रममा विभागको टोली व्यापारी सञ्जय बबैयासम्म पुगेको हो। 

तर, उनको वास्तविक नाम सञ्जय नभई अरु नै भएको तथा उनी नेपाली हुन वा भारतीय हुन भन्ने पुष्टि भईनसकेको विभागले जनाएको छ। संजयले आफू बबैया ग्रुपको सञ्चालक हुँ भन्ने गरेको पाईएको छ। उनी भारतीय हुन् वा छद्म नाम प्रयोग गरेर तस्करी गरिरहेका नेपाली हुन् भन्नेबारे छानबिन भइरहेको अनुसन्धान विभागका अधिकृत बताउँछन्।

सञ्जय विगतदेखि नै हङकङ र यूएईबाट काठमाडौंमा सुन भित्र्याउने काममा सक्रिय रहेको जनाईएको छ। उनले काठमाडौँका नाम चलेका सुन व्यापारीलाई तस्करीको सुन बेचेको तथ्य पनि विभागसँग छ।

विभागले उनको सम्पर्कमा रहेका ब्यक्ति र ब्यापारीसँग सम्पर्क वढाईरहेको छ। यसरी नाम लुकाएर तस्करीको कारोबार गरेका व्यक्ति यसअघि पनि देखिएका थिए। 

सय किलो सुन तस्करी प्रकरणमा जोडिएका अर्का व्यापारी राकेश अडुकिया पनि भारतीय पासपोर्ट प्रयोग गरेर यात्रा गर्छन्। उनको भारतीय पासपोर्टमा नाम रोहन अडुकिया छ। तर तीनै व्यक्तिको राकेश अडुकिया नाममा नेपालमा विभिन्न कम्पनी दर्ता छन्। उनी अहिले सम्पर्क वाहिर छन्।

अर्का शंकास्पद व्यवसायी दीपक मलहोत्रा सुरुदेखि नै राजस्वको निगरानीमा छन्। तर उनले आफ्नो नाम सुन तस्करीमा जोडिनेबित्तिकै पत्रकार सम्मेलन गरेर अस्वीकार गरेका छन्। 

साउन २ गते नेपाल भित्र्याईएको सय किलो सुन गालेर नेपाली बजार र भारत लैजाने तयारी थियो। राजश्व अनुसन्धान विभागले सुन बरामद गरेपछि आशंकित व्यक्तिका घर तथा कम्पनीमा समेत छापा मारेर हेरिरहेको छ। त्यस क्रममा चिनियाँ नागरिकको बालुवाटारस्थित गोदाममा सुन गाल्ने मेसिन फेला परेको छ। 

यो पनि,

सुन तस्करी

विशेष