News

पार्टीको कार्यक्रममा ओलीले अचानक किन सम्झिए दरबार हत्याकाण्ड ?

पार्टीको कार्यक्रममा ओलीले अचानक किन सम्झिए दरबार हत्याकाण्ड ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो समयपछि दरबार हत्याकाण्डको बारेमा टिप्पणी गरेका छन्।

पार्टी जनवर्गीय संगठनको कार्यक्रममा शुक्रबार सम्बोधन गर्ने क्रममा उनले दरबार हत्याकाण्डको चर्चा गरेका हुन्। सत्ताको लडाइँ निर्मम हुने भन्दै उनले दरबार हत्याकाण्डको जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह रहेको संकेत गरे।

‘राज्यका लागि प्रतिक्रियावादीहरुले केसम्म गर्छन् भने वंश विनाश गरिदिए वीरेन्द्रको। राजा जस्तोको वंश विनाश गरे। कति निर्मम हुँदोरहेछ सत्ताको लडाइँ’ उनले भने–‘आफ्नैले आफ्नैलाई, आफ्नै पुजनीयलाई आफैंले हत्या गरेर। दोष थोपरिदिने फेरि उसकै छोराका टाउकोमा। जो मारिएको छ उसकै टाउकोमा।’

उनले यही मौकामा माओवादी अध्यक्ष पुष्पकमल दाहालको पनि टिप्पणी गरे। माओवादीसँग एमालेको एकता पानी र तेलको जस्तो बनेको टिप्पणी उनको छ।

नेकपा निर्माणपछि पनि प्रचण्डले आफ्नो पार्टी जीवितै राखेको भन्दै उनले थपे–‘माओवादीसँग एकता भनिए पनि वास्तविक एकता भएन। तेल एकातिर पानी अर्कोतिर भयो। मिक्स अप नै हुन सकेन हुनै दिइएन। प्रचण्डले आफ्नो पार्टीका बैठकहरु गरिरहे। आफ्नो पार्टी जीवितै राखिरहे।’

प्रचण्डले एमालेको खाएको तर हिसाबकिताब नबुझाएको ओलीले आरोप लगाए। उनले भने, ‘उनले पार्टीमा हिसाबकिताब बुझाएनन्। एमालेको रकम लिए। एमालेको रकममा चले। एमालेको रकम खाए, पिए सबै गरे। तर, एमालेमा एक पैसा दाखिल गरेनन्। हिसाब पनि दाखिला गरेनन्, कार्यालय पनि दाखिला गरेनन्। बैंकमा भएको डिपोजिट पनि दाखिल गरेनन्। सबै आफैंसँग राखे।’
 

दरबार हत्याकाण्ड

विशेष