News

वर्षमा २१२ पटक यूएई र हङकन गएका थिए सुन तस्करीका आरोपी

क्विन्टल सुन पक्राउ परेपछि सम्पर्क विहिन भए यी ब्यापारी

वर्षमा २१२ पटक यूएई र हङकन गएका थिए सुन तस्करीका आरोपी

एक क्विन्टल सुन तस्करीको आरोप लागेका ब्यापारी राकेश अडुकियाले एक वर्षको अवधिमा २१२ पटक यूएई र हङकङको यात्रा गरेको खुलेको छ।

अध्यागमन विभागले राजस्व अनुसन्धान विभागलाई पठाएको विवरणमा अडुकियाले भारतीय पासपोर्ट मार्फत विदेश भ्रमण गर्ने गरेको पाईएको छ। उनले रोहन अडुकिया नामको भारतीय पासपोर्ट प्रयोग गर्ने गरेका छन्।

४८ वर्षिय राकेश सन् १९७५ को अगष्ट ९ का दिन काठमाण्डौंमा जन्मिएका थिए । उनले भारतीय नागरिकको हैसियतमा हङकङस्थित भारतीय महावाणिज्यदूतावासबाट उतैको नागरिकता र पासपोर्ट जारी गराएका बताईन्छ। 

उनले जेड ५०९७७३९ नम्बरको भारतीय राहदानी बोकेका छन् । हङकङमा उनको पारिवारिक लगानी रहेको रोयल सिल्भर हङ्गकङ्ग लिमिटेड छ । राकेशले अरबौँ रकम आफू र परिवारको नाममा शेयरमा लगानी गरेका छन् । श्रीमती रुची अडुकिया (जाजोदिया) जेड ३०८५०३७ नम्बरको भारतीय राहदानी बोक्छिन् ।

उनको नाममा नेपाल रेमिटेन्स प्रा. लि.र टेस्ला गाडीको नेपालका निम्ति आधिकारिक शोरुम र लक्ष्मी बैंकको शेयरलगायत देखिएको स्रोतको दावी छ। उनको एमालेका नेतासँग घनिष्ठ सम्बन्ध रहेको बुझिएकोछ । 

राजस्व अनुसन्धान विभागले हङकङबाट आएको सुनकाण्डमा उनको संलग्नताको आशंका गरेको छ। बैंक तथा वित्तीय संस्था, रेमिट्यान्स, गाडी, हर्बल व्यवसायी अडुकिया यसअघि सेयर लगानीकर्ताका रुपमा चिरपरिचित थिए।

गोर्खा विकास बैंक डुबाएको अरोप लाग्दै आएका उनी विकास बैंक प्रकरणमा पक्राउ समेत परेका थिए। पुनरावेदन अदालत पाटनको आदेशपछि उनी छुटेका हुन। उनी सुनकाण्ड सार्वजनिक भएलगत्तै सम्पर्क विहिन छन्। उनका बाबुछोरा नै मोबाइल बन्द गरेर नेपालबाट फरार भएको जनाईएको छ।

अडुकियाले भने आफुविरुद्ध भ्रम छरिएको वताउँदै सुन काण्डमा आफनो संलग्नता अस्विकार गरेका छन्। 

सुन तस्करी राकेश अडुकिया

विशेष