News

बलात्कार आरोपमा मध्य पहाडी लोकमार्गका निर्देशक अस्पतालबाटै पक्राउ

बलात्कार आरोपमा मध्य पहाडी लोकमार्गका निर्देशक अस्पतालबाटै पक्राउ

मध्य पहाडी लोकमार्ग आयोजनाको आयोजना निर्देशक इन्जिनियर हरिकुमार पोखरेल बलात्कार आरोपमा पक्राउ परेका छन्। पोखरेल आज विहान त्रिपुरेश्वर स्थित ब्लुक्रस अस्पतालबाट पक्राउ परेका हुन।

घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा पोखरेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। किशोरीले कालीमाटीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी दिएकी थिईन ।

त्रिुपरेश्वरस्थित ब्लुक्रस अस्पतालबाट पक्राउ गरेर इन्जिनियर पोखरेलमाथि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले बताए । यो बलात्कार घटनाबारे सामाजिक सञ्जालमा पनि प्रश्न उठेको थियो । ती किशोरीले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै सामाजिक सन्जालमा भिडियो पोस्ट गरेकी थिइन् ।

त्यसलगत्तै पोखरेल मुटुको समस्या भएको भन्दै अस्पतालमा भर्ना भएर बसेका थिए । प्रहरीले उनलाई अस्पतालबाटै नियन्त्रणमा लिएको हो । 

चार वर्षअघि ७ लाख घुससहित पक्राउ
इञ्जिनियर पोखरेल यसअघि ७ लाख घुससहित पक्राउ परेका थिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराको टोलीले सडक डिभिजन कार्यालय पोखरामा प्रमुख रहेका बेला उनलाई घुससहित पक्राउ गरेको थियो ।

०७६ साउन २३ गते अख्तियारको टोलीले उनीसँगै इञ्जिनियर पवित्रमणि आचार्य, ठेकेदार ऋषि गौतम र पोखरेलका २ जना भान्छेलाई पक्राउ गरेको थियो। सडक निर्माणको ठेक्का मिलाइदिन भनी जीएमआर निर्माण सेवाका ठेकेदार ऋषि गौतमले पोखरेलको निवासमा पुगेर नौ लाख रुपैयाँ घुस दिएका थिए ।

सेटिङ मिलाउने काम सडक डिभिजनकै इञ्जिनियर पवित्रमणि आचार्यले गरेका थिए । दुई जना भान्छेलाई पैसा ओसारपोसारमा संलग्न भएको आरोप लागेको थियो। अख्तियारले इञ्जिनियर पोखरेलसहितलाई बरामद भएको सात लाख जफत हुन समेत मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

उनले ०७८ चैतपछि विशेष अदालतबाट सफाइ पाएका थिए । 

विशेष