News अपराध सुरक्षा

१ क्विन्टल सुन प्रकरणमा पनि यसरी जोडियो बालकृष्ण खाणको नाम

१ क्विन्टल सुन प्रकरणमा पनि यसरी जोडियो बालकृष्ण खाणको नाम

एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बतियन नागरिक दावा छिरिङ नेपालमा चीनियाँ अपराधि ग्याङ भित्र्याउने नाईके मानिन्छन्। दावा र ती चीनियाँ नागरिकलाई खासगरी माओवादी केन्द्रका नेता एवम् पूर्व सभामुख ओनसरी घर्ती, उनका पति एवम् पूर्वमन्त्री वर्षमान पुन, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश, पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले संरक्षण दिएका थिए।

नेपालमा हुने अधिकांश अनलाइन ग्याम्ब्लिङ, म्याच फिक्सिङ, अश्लील भिडियो देखाएर र ‘लोन एप’ मार्फत अवैध असुली गर्ने धन्दा दावाकै ग्याङले गर्ने गरेको छ। उनीहरुले राजनीतिक र प्रशासनिक संरक्षणमै यस्ता धन्दा चलाउँछन्। उनीहरुलाई दलका नेता तथा प्रहरी÷प्रशासनले संरक्षण दिने गरेको तथ्यहरुले पुष्टि गर्छ।

प्रहरीका अनुसन्धान र प्रमाणहरुले चीनियाँ नागरिकलाई नेपाल भित्र्याएर गैरकानुनी धन्दा चलाउने काममा सवैभन्दा ठुलो भुमिका तिब्बतियन नागरिक दावा छिरिङको छ। उनी ओनसरी घर्ती र वर्षमान पुनका नजिकका मान्छे हुन। बेल्जियमको राहदानी बोकेका दावाले राजनीतिक र प्रशासनिक आडमा नेपाली नागरिक्ता र राहादानी समेत लिईसकेका छन्।

स्रोतका अनुसार दावाले ०७४ पुस २० गते काभ्रेपलाञ्चोकको नमोबुद्ध–११ बाट बंशजको नागरिक्ता निकालेका छन्। नेपाली नागरिकतामा उनको नाम निमा तामाङ छ। जिल्ला प्रशासन कार्यालय काभ्रे पनि दावाको वंशजको नागरिकता जारी भएको पुष्टि गर्छ। दावाले नेपाली नागरिकता लिँदा शिवप्रसाद सिम्खडा सिडिओ थिए। 

नागरिकता लिएको एक महीनामै उनले (०७४ माघ ११ गते) नेपाली राहदानी निकालेका छन। नेपाली नागरिकता र राहदानीमा उनको जन्ममिति ०४१ वैशाख १५ गते उल्लेख छ। अहिले उनी नेपाली र बेल्जियम दुवै मुलुकको राहदानी प्रयोग गर्छन। बेल्जियमको राहदानीमा भने उनको जन्ममिति ०४० चैत ३ गते राखिएको छ भने ठेगाना लिथाङ उल्लेख गरिएको छ। लिथाङ तिब्बतमा पर्छ।

नेपाली राहदानीको म्याद १ मार्च २०२८ सम्म र बेल्जियम राहदानीकोे म्याद ३ जनवरी २०३० सम्म छ। उनै दावा मार्फत नेपाल छिरेको चिनियाँ गिरोहले पछिल्लो समय ‘लोन एप’ मार्फत ऋणको जालोमा फसाएर अवैध असुली गर्दै आएको छ। उनीहरुको निसानामा प्राय भारतीय नागरिक हुने गरेका छन्।

०७८ साउनमा नेपाल प्रहरीले काठमाडौंको सिनामंगल र रुपन्देहीको तिलोत्तमामा छापा मारेर दावा समूहका चिनियाँ र नेपाली गरी १५ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो। यस अघि र पछि पनि चीनियाँहरु यस्तै धन्दामा पक्राउ पर्दै छुट्दै आएका छन्। ०७८ फागुनदेखि साउनसम्मको ६ महीनामा मात्रै प्रहरीले देशभर आधा दर्जन ठाउँमा छापा मारेको छ। ०७६ पुसमा प्रहरीले काठमाडौंबाट १२२ चिनियाँलाई अनलाइन जुवा, म्याच फिक्सिङ र अश्लील भिडिओ देखाएर चीनमा रहेका व्यक्तिबाट रकम असुलेको आरोपमा पक्राउ गरेको थियो।

०७८ वैशाखमा अध्यागमन विभागले अपराध अनुसन्धान कार्यालय र काठमाण्डौं प्रहरीको सहयोग लिएर महाराजगञ्जबाट २२ चिनियाँलाई पक्राउ गर्दा तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणले उनीहरुको पक्षपोषण गरेका थिए। अध्यागमन, उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं प्रहरी प्रमुख र गृहका सहसचिवलाई बोलाएर उनले ‘कसले र किन छापा मारेको ?’ भन्दै ¥याख¥याख्ती पारेको एक प्रहरी अधिकृत बताउँछन्।

त्यसपछि उनीहरुलाई सोही साँझ अध्यागमनले बोलाएका वेला उपस्थित हुने शर्तमा गुपचुप रूपमा छाडिएको थियो। त्यति वेला उपराष्ट्रपति कार्यालयका सचिव र उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशले पनि उनीहरूलाई छाड्न दबाब दिएको अध्यागमन विभाग स्रोत बताउँछ।

दावासँग विशेष सम्बन्ध भएका दीपेशको चिनियाँ गिरोहसँगको साइनो पुरानै हो। दावाले नै चिनियाँ टोलीसँग दीपेशको भेट गराइदिएका हुन्। चिनियाँ गिरोहले अवैध धन्दा चलाउन प्रहरी÷प्रशासनको उच्च नेतृत्वसम्म पनि पहुँच बनाएको भेटिन्छ। ०७६ मा विमानस्थलमा रोकिएको सामान छुटाउन चेन सितियान नामका चिनियाँले तत्कालीन आईजीपी सर्वेन्द्र खनालसँग समेत भेटेका थिए। थाइल्यान्डबाट अवैध रूपमा सामान ल्याएका सितियानले उपराष्ट्रपतिका छोरा दीपेश र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक मार्फत आईजीपी खनाललाई भेटेको प्रमाणहरुले देखाउँछ।

त्यो भेटको प्रभाव प्रहरी ‘अपरेशन’ मा समेत परेको थियो। सितियान सहितका मुख्य सञ्चालक काठमाडौंमा प्रहरीले छापा मार्नुभन्दा केही दिनअघि नै भियतनाम पुगेका थिए। 

दावा छिरिङ बालकृष्ण खाँण प्रतीक थापा ओनसरी घर्ती वर्षमान पुन नन्दबहादुर पुन दीपेश पुन रामबहादुर थापा सुन तस्करी

विशेष