क्विन्टल सुन तस्करीमा मुछिएका व्यापारी अडुकिया भगाउन गृहमन्त्रीकै मिलेमतो
क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी राकेशकुमार अडुकिया हाल सम्पर्कविहीन छन्। नेपाली नागरिक रहेका उनले भारतीय राहदानीबाट पछिल्लो ९ महिनामा १४ पटक नेपाल–हङकङ ओहोरदोहोर गरेको खुलेको छ।
प्रहरीले उनको विषयमा अनुसन्धान गरिरहेको भए पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठ भने उनलाई नियन्त्रण गर्ने पक्षमा देखिएका छैनन्। सुन तस्करीमा ‘कुनै टार र कोट नहेर्ने’ फुर्ती लगाएका उनी घट्नासँग धमाधम माओवादी नेताको नाम जोडिन थालेपछि अन्यौलमा छन्।
ब्यापारी अडुकियालाई भगाउन गृहमन्त्री श्रेष्ठकै हात रहेको वताईन्छ। अडुकिया पक्राउ परे अरु पनि माओवादी नेताको नाम जोडिन सक्ने देखिएका कारण उनैको योजना अनुसार सुनका मालिक भनिएका उनलाई भगाईएको स्रोतको दावी छ।
स्कुटरको ‘ब्रेक सु’ मा लुकाएर हङकङबाट असार २९ मा भित्र्याइएको करिब १ क्विन्टल सुन साउन २ मा बरामद भएपछि अडुकिया ‘सम्पर्कविहीन’ भएका हुन्।
सुन तस्करीको सञ्जालमा अडुकिया रहेको आशंकामा राजस्व अनुसन्धान विभाग र प्रहरीले अनुसन्धान गर्ने क्रममा उनी २०७९ असोजदेखि २०८० असारसम्ममा त्रिभुवन विमानस्थलबाट १४ पटक हङकङ पुगेको खुलेको छ।
यस क्रममा उनले नेपाली राहदानी प्रयोग गरेका थिएनन्। जबकि नेपाली नागरिककै हैसियतमा विगतमा उनी बैंक÷वित्तीय संस्था, सेयर कारोबार, अरू व्यापार–व्यवसायमा आबद्ध थिए।
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार अडुकियाले हङकङस्थित भारतीय नियोगबाट २०१० जुलाई ३ मा राहदानी लिएको पाइएको छ। २०१८ जुलाई १० मा राहदानी नवीकरण गर्दा भने अर्कै नम्बर उल्लेख गरिएको छ।
नेपाली नागरिकका रूपमा व्यापार–व्यवसाय गरिरहेका अडुकियाले कसरी भारतीय राहदानी लिए भन्ने विषय पनि अनुसन्धानको दायरामा समेटिनुपर्ने हो। नेपाली नागरिक भएर भारतीय राहदानी प्रयोग गरेको अपराध गर्दै सुन तस्करी गरेका अडुकियाको सम्पत्ति रोक्का गर्न पनि गृहमन्त्रीले चासो दिएका छैनन्।
नेकपा एमालेले पनि सुन तस्करीमा गृहमन्त्री नै संलग्न भएको र मिलेमतोमै विमानस्थलबाट सुन पास गरिएको भन्दै राजिनामा दिनुपर्ने माग गरेको छ।
सुन तस्करी