News

बालेन्द्रले लिङदेनको फोन नउठाएपछि भत्किने भयो राप्रपाको केन्द्रीय कार्यालय

बालेन्द्रले लिङदेनको फोन नउठाएपछि भत्किने भयो राप्रपाको केन्द्रीय कार्यालय

काठमाडौं महानगरपालिकाले धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालय भत्काउने भएको छ। नक्सा पास नगरी बनाएको र भवन विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनमुनि रहेकाले उक्त भवन भत्काउन लागिएको हो।

महानगरले शुक्रबार माइकिङ गर्दै कार्यालय खाली गराउन तीन दिनको समय दिएको थियो। तर अल्टिमेटम सकिँदा पनि भवन खाली नगराइएपछि भवन भत्काउने तयारी भएको जनाईएको छ। सोमबार सबैलाई भेला पारेर भत्काउन लागिएको महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए।

राप्रपा मुख्यसचिव केदारबहादुर अधिकारीले नगर प्रहरीले माइकिङ गरेर गए पनि महानगरबाट कुनै लिखित सूचना वा पत्र नआएको बताएका छन् ।

स्रोतका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङदेन स्वयंले मेयर बालेन्द्र साहसँग कुरा गर्न खोजे पनि सफल भएका छैनन् । अस्ति लिङदेनले गरेको फोन बालेन्द्रले रिसिभ गरेनन् भने म्यासेजको पनि जवाफ फर्काएका छैनन्।

धुम्बाराहीमा करिब १० रोपनी क्षेत्रफलमा रहेको २ तल्ले घर राप्रपाले २०६९ सालदेखि प्रयोग गर्न थालेको हो । यो घरको नक्सापास नभएको बुझिएको छ । दाताहरुले राप्रपालाई यो घर–जग्गा प्रयोग गर्न दिएका थिए । मुख्य सचिव अधिकारीका अनुसार नक्सापासका लागि निवेदन दिएको वर्षौं हुँदा पनि गरिएको छैन ।

यो घर अहिले कल्याण राजभण्डारी र प्रज्ञा चापागाईंको नाममा छ । अर्काको नाममा भएकाले अदालत जाने विकल्प पनि राम्रपासँग छैन। घरधनीहरुले त्यस विषयमा चासो नदिएको एक नेताले बताए । 
 

विशेष