News

सुन तस्करी प्रकरणमा वर्षमानको स्पष्टिकरणः दावासँग मेरो कुनै सम्वन्ध छैन

सुन तस्करी प्रकरणमा वर्षमानको स्पष्टिकरणः दावासँग मेरो कुनै सम्वन्ध छैन

आफु नजिकका तिब्बतियन मुलका बेल्जियन नागरिक दावा छिरिङ सुन तस्करी प्रकरणमा पक्राउ परेपछि नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन छटपटिएका छन्। उनले दावा छिरिङसँग आफनो कुनै सम्बन्ध नरहेको बताए ।

सरकारले सञ्चालन गरेको भ्रष्टाचार र अनियमितता विरोधी अभियानलाई अन्यत्रै मोड्ने नियोजित चलखेलका रुपमा आफ्नो नाम दावासँग मुछ्ने प्रयास भएको उनको टिप्पणी छ । आफ्नो गृहजिल्ला रोल्पा थवाङकी पार्टी कार्यकर्तासमेत रहेकी शहीद परिवारकी अमला रोकाले दावासँग विवाह गरेको र अमलाले आफूसँग चिनजान गराउन एकपटक डेरामा लिएर आएको प्रष्टीकरण पुनले दिए ।

‘दावा पक्राउ परेपछि आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको सामूहिक तस्वीरलाई अहिलेको घटनासँग जोडेर प्रचार भयो,’ नेता पुनले भनेका छन्, ‘यो मेरो सार्वजनिक छविमाथिको आक्रमण र चरित्र हत्या हो ।’

सुन तस्करी प्रकरणलाई लिएर कतिपयले माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आफ्नो नाम मुछ्ने प्रयास भएको भन्दै उनले सत्यतथ्य छानबिनको माग गरे ।

छानबिनमा दोषी देखिए आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको उनको भनाई छ। उनले नाम जोडिएका सबैबारे छानबिन गर्न प्रहरीको अपराध अनुसन्धानमा विज्ञ टोली, संसदीय समिति वा विशेष समिति बनाउन पनि माग गरेका छन् ।

पुनले यस्ता प्रकरणमा मुछिएको पुष्टि भए पार्टी र सरकारले कसैलाई पनि उन्मुक्ति दिन नहुनेमा जोड दिए । 

यो पनि,

वर्षमान पुन सुन तस्करी

विशेष