News खेल

नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा 

नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा 

सिंगापुरलाई ९७ रनले पराजित गर्दै नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको खेलमा ९ विकेट गुमाई १ सय ८४ रन बनाएको थियो । जवाफमा सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो ।

सिंगापुरले आक्रामक सुरुआत गरे पनि नेपाली स्पिनरले उनीहरुलाई दबाबमा राखेका थिए। सिंगापुरका लागि ओपनर रोशन रविचन्द्रनले सर्वाीधक २४ रन बनाए । उनले ३७ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । कविर बेरिलाले ११ रन बनाए । प्रणव धानुका १४ रनमा अविजित रहे । उनले दुई चौका प्रहार गरेका थिए ।

नेपालबाट कृतिक कामतले ३, कप्तान अभिषेक तिवारी, प्रतीक पोखरेल, सन्तोष यादव, अशोक धामी र नरेन भट्टले १–१ विकेट लिए ।

यसअघि सूर्यांशु कोइराला र निरज यादवले १२ ओभरभित्र ६३ रन जोडेर नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । सूर्यांशुले ४९ बल खेल्दै ६ चौका प्रहार गरी ४३ रन बनाए । निरजले ४२ रन जोड्नेक्रममा ४९ बल खेली ३ चौका र १ छक्का प्रहार गरे ।

आशिष लुहार ६, नरेन ३, प्रतिक १२ रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो । सन्तोष यादवले २४ बल खेल्दै २ चौकासहित १८ रन बनाए । अशोक धामी शून्यमै आउट भए। कप्तान अभिषेक तिवारी र दीप भुजेलले आठौं विकेटमा ३९ रनको साझेदारी गरे । अभिषेकले २१ बल खेली समान १ चौका र छक्का प्रहार गर्दै २५ रन बनाए ।

सिंगापुरबाट हरिहरनले ३ विकेट लिए । उनले ७ ओभरमा ३१ रन खर्चे । हर्ष वेंकटर्म र कविर बेरिलाले २–२ विकेट लिए ।

नेपालले मंगलबार हुने फाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । नेपाले थाइल्यान्ड र मलेसियालाई पराजित गरि समूह ‘ए’ को विजेता बनेर सेमिफाइनलमा पुगेको थियो । माल्दिभ्स र इन्डोनेसियामाथि विजय हात पारेको सिंगापुर अन्तिम खेलमा हङकङसँग पराजित भएपछि समूह ‘बी’ को उपविजेता बनेको थियो। 

विशेष