भारतीय प्रधानमन्त्री मोदीको निवासमाथि शंकास्पद ड्रोन देखिएपछि खैलावैला

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निवास लोक कल्याण मार्गमाथि ड्रोन जस्तै शंकास्पद वस्तु उडेको देखिएपछि सुरक्षा निकायमा खैलावैला मच्चिएको छ।
जानकारी अनुसार सोमबार बिहान ५ बजे दिल्ली पुलिसलाई एउटा फोन आएको थियो। पुलिसलाई प्रधानमन्त्री आवासमाथिको आकाशमा ड्रोन जस्तै केही वस्तु उडेको खबर आएपछि सतर्कता अपनाइएको थियो।
समाचार एजेन्सी एएनआईका अनुसार उक्त वस्तु ड्रोन भएको पत्ता लागेपछि प्रधानमन्त्रीको सुरक्षा जिम्मा सम्हालिरहेको एसपीजीले दिल्ली पुलिससँग सम्पर्क गरेको थियो।
पुलिसले उजुरी आएलगत्तै जब जाँच थाल्यो तर, तथ्य के हो ? भन्ने खुल्न सकेन। दिल्ली पुलिसका अधिकारीले यसबारेमा एयर ट्राफिक कन्ट्रोललाई पनि सोधेका थिए। तर, त्यहाँबाट पनि केही नखुलेको जनाएको छ।
एएनआईका अनुसार दिल्ली पुलिसले यस मामिलामा जाँच गरिरहेको छ। उडान निषेधित क्षेत्रका रुपमा रहेको प्रधानमन्त्री आवास क्षेत्रमा ड्रोन र हेलिकप्टरको उडान निषेध गरिएको हुन्छ।