News

प्रचण्डको लाजै लाग्ने खुलासाः मलाई प्रधानमन्त्री बनाउँन धेरै पटक दिल्ली दौडधुप भयो

प्रचण्डको लाजै लाग्ने खुलासाः मलाई प्रधानमन्त्री बनाउँन धेरै पटक दिल्ली दौडधुप भयो

प्रधानमन्त्री एवम नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लाजै पचाएर आफु प्रधानमन्त्री बन्न धेरै पटक दिल्ली दौडधुप भएको खुलासा गरेका छन्। सरदार प्रीतम सिंहको प्रशंसा गर्ने क्रममा दाहालले आफूलाई प्रधानमन्त्री बनाउन उनी धरै पटक दिल्ली गएको टिप्पणी गरे ।

लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल) को सोमवार विमोचन गर्दै उनले सरदार सिंहको रुची यातायात, सामाजिक सेवा र शिक्षाको क्षेत्रमा मात्रै नभइ राजनीतिमा पनि भएको बताए।

‘यातायात, सामाजिक सेवा, शिक्षाको क्षेत्रमा मात्रै होइन उहाँ राजनीतिमा पनि रुची राख्नुहुन्छ’ दाहालले भने–‘वहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो। धेरैचोटी दिल्ली जानु पनि भयो। काठमाडौंका थोरै पार्टीहरुलाई, नेताहरुलाई पार्टीहरुसँग पनि उहाँले लगातार छलफल गर्नुभयो।’

उसो त नेपालमा प्रधानमन्त्री बन्न र प्रधानमन्त्रीमा टिकिरहन भारतीय आशिर्वाद चाहिने कुरा कसैबाट लुकेको विषय होईन। तर, अन्य नेताले यसरी मुखै खोलेर दिल्लीलाई जोड्ने गरेका छैनन्, वरु दिल्लीको संलग्नतालाई उनीहरु अस्विकार गर्छन। दाहालले भने भारतकै इच्छामा आफु प्रधानमन्त्री बनेको बताएका छन्।

पहिलो पटक सत्ता सम्हाल्दा चीनबाट विदेश भ्रमण सुरु गरेका दाहाललाई त्यसपछि नयाँ दिल्लीसँगको विश्वासको सम्बन्ध कायम राख्न चुनौती देखा परेको थियो। त्यसबेला जम्मा नौ महिनामै प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका उनले सत्तामा फर्कन अर्को सात वर्ष कुर्नुपरेको थियो।

यस पटक सरकारको नेतृत्वमा पुग्न सुरुमा नेकपा एमालेको साथ लिएका दाहालले पछिल्लो समयमा नेपाली कांग्रेसको समर्थन लिएर सत्ताको नेतृत्व गरिरहेका छन्। यस पटक भने उनले चीनको निम्तोलाई अस्विकार गरेर भारत भ्रमणको निम्तो कुरेर वसेका थिए।

अघिल्लो महिना मात्रै प्रधानमन्त्रीले राष्ट्रिय सभामा बेइजिङकै सुझावमा बोआओ फोरममा सहभागिता नजनाएको बताएपछि चिनियाँ राजदूतले त्यसको प्रतिवाद नै गर्नुपरेको थियो। बेइजिङले हालै भएको आफ्नो भारत भ्रमणमा नयाँ दिल्लीलाई खुसी बनाउन दाहाले ‘अभूतपूर्व रूपमा तत्पर’ रहेको ठानेको हुन सक्ने विश्लेषकहरु वताउँछन्।

विशेष