नेपालले जित्यो एसीसी मेन्स यु–१६ इस्ट जोन कपको उपाधि, मलेसिया २२२ रनले पराजित
मलेसियालाई २२२ रनले हराउँदै नेपालले एसीसी मेन्स यु–१६ इस्ट जोन कप–२०२३ को उपाधि जितेको छ ।
मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई हराउँदै नेपालले उपाधि जितेको हो । नेपालले दिएको २५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा सबै विकेट गुमाएर ३१ रनमै समेटिएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २५२ रन बनायो। नेपालका लािग नरेन भट्टले ८९ बलको सामना गर्दै ११२ रन बनाइ अविजित रहे। उनले १० चौका र २ छक्का प्रहार गरे।
नेपालका लागि अर्का ब्याटर निरज कुमार यादवले ४७ रन बनाए। यस्तै सन्तोष यादवले २६ तथा सूर्यांशु कोइरालाले १८ रन जोडे। मलेसियाका महम्मद अक्रमले सर्वाधिक ३ विकेट लिए भने अरिन अकिल, हजिक हैकल र महम्मद फथुल मुइनले १–१ विकेट लिए।
२ सय ५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४औं ओभरमा ३१ रन बनाउँदै अलआउट भयो। मलेसियाका लागि मोहम्मल अक्रमको १० रन नै सर्वाधिक रहयो। मलेसियालाई सस्तैमा समेटन नेपालका कप्तान अविशेक तिवारीले सर्वाधिक ५ विकेट लिए। यस्तै सन्तोष यादवले ३ विकेट लिँदा सागर गैरे र अशोक धामीले १÷१ विकेट लिए।