News

सादगी नेताको झुठो विज्ञप्तिः राष्ट्रपतिको उपचार खर्च आधा करोड, सरकारले व्यहोर्ने

लोकरिझ्याँई र आलोचनाबाट वच्न जारी गरिएको विज्ञप्तिको धज्जी उडाउदै ५५ लाख माग

सादगी नेताको झुठो विज्ञप्तिः राष्ट्रपतिको उपचार खर्च आधा करोड, सरकारले व्यहोर्ने

सादगी नेता भनेर चर्चा गरिएका राष्ट्रपति रामचन्द्र पौडेल गत वैशाखमा उपचारका लागि दिल्ली गए। तर, उपचारमा जानुअघि उनले मेडिकल बोर्डबाट सिफारिस लिएनन्। नत, उपचाररत चिकित्सकले नै उनलाई भारत लैजान सुझाव दिएका थिए।

छातीको समस्या देखिएपछि परिवारका सदस्यले उनलाई भारतको दिल्लीस्थित अल इन्डिया इन्ष्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा लगेर उपचार गराउने चाहना राखे। नेपाली चिकित्सकले ‘हामी उपचार गर्न सक्छौं’ भन्दाभन्दै पौडेललाई वैशाख ६ गते एयर एम्वुलेन्स मार्फत दिल्ली लगेर एम्समा भर्ना गरियो।

राष्ट्रपति पौडेल वैशाख १७ गते उपचारपछि नेपाल फर्किए। यस विचमा उनको खुबै आलोचना भयो। उनलाई राष्ट्रपति बनाउने पार्टीका महामन्त्री गगन थापाले पनि यस विषयमा आलोचना गर्दै उपचार खर्च आफै ब्यहोर्नु पर्ने आसयको भाषण गरे।

लगत्तै पौडेलको सचिवालयले १९ वैशाखमा एउटा वक्तव्य जारी गर्दै ‘उपचारका क्रममा भएको खर्च राष्ट्रपति स्वयंले व्यहोर्न चाहेको’ भन्दै जानकारी गरायो। तर, त्यस्तो किन हुन्थ्यो। लोकरिझ्याँई र आलोचनाबाट वच्न जारी गरिएको उक्त विज्ञप्तिको धज्जी उडाउदै उपचार खर्च सरकारले तिर्ने निर्णय भएको छ।

असार १२ गते मन्त्रिपरिषदमा उनको उपचार खर्च सम्बन्धी प्रस्ताव गयो। खासमा राष्ट्रपतिले उपचार खर्च चुक्ता गर्न यसबीचका दुई महिनामा कुनै पहल नै नगरेपछि उपचारमा लागेको ५५ लाख २ हजार २७९ रुपैयाँ सरकारले व्यहोर्ने निर्णय गरेको जनाईएको छ।

मन्त्रिपरिषद्को निर्णय अनुसार परराष्ट्र मन्त्रालयले असार १८ गतेको सचिवस्तरीय निर्णयबाट अर्थ मन्त्रालयसँग निकासा माग गरेको छ। मन्त्रिपरिषदको निर्णयका आधारमा राजनीतिक व्यक्तिले मनलाग्दी उपचार खर्च लिने प्रचलन बढेपछि जनस्वास्थ्य ऐन–२०७५ ल्याइएको थियो, जसमा नेपालमा सम्भव भएका उपचारका लागि विदेश जाँदा उपचार खर्च नव्यहोर्ने व्यवस्था गरिएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको सेवा सुविधा सम्बन्धी ऐन, २०७४ को दफा ९ मा पनि नेपालमा उपचार हुन नसकेमा मेडिकल बोर्डको सिफारिसमा विदेशमा उपचार गराउँदा लागेको उपचार खर्च सरकारले व्यहोर्ने उल्लेख छ ।

तर, राष्ट्रपतिको उपचार नेपालमै सम्भव छ भन्दै चिकित्सकले नै सामाजिक संजालमा लेखिरँहदा पौडेललाई भारत पुर्याईएको थियो। राष्ट्रपतिले उपचार गराएको भारतको अस्पताल एम्सबाटै छाती रोग विषयमा डीएम उपाधि हासिल गरेका तीन जना वरिष्ठ कन्सल्ट्यान्टहरु वीर अस्पतालमा कार्यरत छन् । वीर अस्पतालमा छातीको उपचारका लागि छुट्टै विभाग समेत छ । छातीरोगको परीक्षण गर्न अत्याधुनिक उपकरण पनि छ। तर, परिवारको इच्छा पुरा गर्नका लागि पौडेललाई भारत पुर्याईएको भन्दै अहिले पनि आलोचना भईरहन्छ। 

राष्ट्रपति

विशेष