भारत ११ करोड सहयोगमा निर्माण भएका ४ वटा विद्यालय भवन स्थानीय तहको जिम्मा
भारत सरकारको आर्थिक सहयोगमा दैलेखमा निर्माण भएका ४ वटा विद्यालय भवन उदघाटनपछि स्थानीय तहको जिम्मा लगाईएको छ।
लालिकाँडास्थित मालिका उच्च मावि, बडाभैरवस्थित भैरव माविद्यालय, बडाखोलास्थित जगदीश मावि र रामपुरस्थित नारायण क्याम्पसको क्याम्पस भवन उदघाटन गरिएको हो।
भारतीय दूतावासको विकास साझेदारी प्रभागका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति, दैलेखका प्रमुख नमराज शाहीले संयुक्त रुपमा विद्यालय भवनको उदघाटन गरेका हुन।
१० करोड ८६ लाखको लागतमा निर्माण भएका भवन औपचारिक रुपमा सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको छ। उदघाटनसहित हस्तान्तरण कार्यक्रममा गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर वि.सी, भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापा, महाबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष मन्जु कुमारी शर्मा (पाण्डे), नारायण नगरपालिकाका मेयर लोमन शर्मा, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा स्थानीय समुदायका अगुवाको उपस्थिति थियो ।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा यी भवन निर्माण भएका हुन। भारतले सन २००३ यत नेपालमा ५४४ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनामा काम गरिरहेको छ।
ती परियोजना मध्ये ४८० वटा परियोजना सम्पन्न भइसकेका छन् । दैलेखका ४ वटा गरी कर्णाली प्रदेशमा १४ वटा परियोजना रहेका छन् ।