News

ललिता निवास जग्गा प्रकरणमा ५ जना पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पूर्जी

ललिता निवास जग्गा प्रकरणमा ५ जना पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पूर्जी

बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा ५ जना पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगो तथा १७ पूर्वसहसचिवसहितका कर्मचारी विरुद्ध प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको छ।

ललिता निवास क्षेत्रको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने गरी भएका निर्णयमा संलग्न कर्मचारी मध्येका एक पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन । अदालतबाट अन्तरिम आदेश लिएकाले तत्कालीन सहसचिव कलाधर देउजालाई कागज गराएर छाडिएको छ । बाँकी आरोपितको खोजबिन र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

११२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा चार वटा मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । जग्गा हिनामिना भएको मुद्दा नम्बर २४ मा २०९ र पशुपति टिकिन्छा गुठीको नाममा दर्ता भएको मुद्दा नम्बर २५ मा ११० जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो जोडिएको यो प्रकरणमा टिकिन्छा गुठीको नाममा ४ रोपनी १४ आना ३ पैसा २ दाम जग्गा हिनामिना भएको छ । फाइल टिप्पणी उठाउने र सदर गर्ने काममा उनीहरुको नाम जोडिने गरेको छ भने  तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई र तत्कालीन मुख्यसचिव लिलामणि पौड्यालको नाम पनि यही मुद्दामा जोडिन्छ।

१२ आना २ पैसा जग्गा हिनामिना भएको मुद्दा नम्बर २६ (छुट जग्गा दर्ता)मा १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास परिसर विस्तारका लागि नक्कली मोहीलाई जग्गा सट्टापट्टा÷शोधभर्ना दिएको सम्बन्धी २७ नम्बर मुद्दामा ७४ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । यो मुद्दा २५ रोपनी ७ आना १ पैसा १ दाम जग्गा हिनामिनासँग सम्बन्धित छ ।

२०४९ सालदेखि २०६९ सालको अवधिमा ललिता निवासको १४३ रोपनी भन्दा बढी जग्गा हिनामिना भएको थियो । हिनामिनामा तत्कालीन प्रधानमन्त्री, मन्त्रीका साथै  सम्बन्धित मन्त्रालय, गुठी संस्थान र मालपोत कार्यालयका कर्मचारीहरु पनि मुछिएका छन् । 
 

ललिता निवास

विशेष