पाकिस्तानी रक्षामन्त्रीद्वारा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनसक्ने संकेत
इस्लामावाद । पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले आवश्यकता परे सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउन सक्ने सम्भावना रहेको संकेत गरेका छन्। उनले मे ९ मा भएको हिंसाको बीउ सामाजिक सञ्जालमा रोपिएको उल्लेख गर्दै सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउन सक्ने बताएका हुन्।
जियो न्यूजसँग कुरा गर्दै रक्षामन्त्री आसिफले अमेरिका, बेलायत र चीन जस्ता देशहरूले सामाजिक सञ्जाललाई नियमन गरेका छन्। 'त्यहाँ नियम र नियामक फ्रेमवर्क छन्, यसको अनुगमन गरिन्छ। हाम्रो देशमा जनतालाई राज्यविरुद्ध विद्रोह गर्न उक्साउन माध्यम प्रयोग गरिन्छ,’ उनले भने ।
उनले भने, ‘मे ९ को हिंसाको स्क्रिप्ट सामाजिक सञ्जालमार्फत तयार गरिएको हो।' पीटीआई प्रमुख इमरान खानको गिरफ्तारीपछि भड्किएको दंगालाई रोक्न सरकारले इन्टरनेट पहुँच बन्द गरेको थियो र देशभर सामाजिक सञ्जालहरू केही दिनसम्म अवरुद्ध गरेको थियो।
गत वैशाख २६ गते भएको हिंसाका दोषीमाथि कारबाही भइरहेको उल्लेख गर्दै मन्त्रीले सेनाले आफ्ना कर्मचारी र परिवारका सदस्यमाथि कारवाही गरेको घोषणा गरेपछि त्यसको सुनिश्चितता गर्नु सरकारको दायित्व भएको बताए।
उनले सेनाले गरेको 'छिटो जवाफदेहिता' को प्रशंसा गरे तर नागरिक अधिकारीहरूले धेरै चुनौती र अवरोधहरूको सामना गरेको उल्लेख गरे। 'सैन्य ऐन अन्तर्गत नागरिकलाई कारबाही गर्ने कानूनलाई विभिन्न अदालतमा चुनौती दिइएको छ, सर्वोच्च अदालतले पनि बहस सुनिरहेको छ… यी अवरोधहरूले हामीलाई रोकिरहेको छ,' उनले भने, 'यी अवरोधहरू पार गर्न सकिन्छ।'
पीटीआईमाथि प्रतिबन्ध लगाउने सम्भाव्यताको बारेमा सोध्दा - सरकारले विगतमा पनि संकेत गरेको कुरा उल्लेख गर्दै उनले जबसम्म मे ९ को हिंसाका दोषीहरूलाई सजाय हुँदैन, तबसम्म कुनै पनि प्रतिबन्ध लगाउन सकिने बताए।