News

क्यानका महानिर्देशकले घुँडा टेके, मन्त्रीलाई पठाए स्पष्टिकरणको जवाफ

क्यानका महानिर्देशकले घुँडा टेके, मन्त्रीलाई पठाए स्पष्टिकरणको जवाफ

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती समक्ष स्पष्टीकरण पेश गरेका छन् । मन्त्री किरातीले तीन दिनको समय दिएर अधिकारीलाई स्पष्टीकरण सोधेका थिए।

पहिलो पटक सात दिने समय दिएर सोधेको स्पष्टीकरणमा निर्देशक अधिकारीले जवाफ नदिएपछि उनलाई दोस्रो पटक स्पष्टिकरण सोधिएको थियो। मन्त्रीको सचिवालयले अधिकारीको जवाफ प्राप्त भएको जनाएको छ।

काम भन्दा पनि ‘स्टन्ट’ गरेर चर्चामा आइरने किरातीले सस्तो लोकप्रियताका लागि स्पष्टीकरण फेसबुकमा हालेका थिए। गोप्य भनेको स्पष्टिकरण फेसवुकमा सार्वजनिक भएको र आफू संलग्न नभएको पोखरा विमानस्थल सम्बन्धी विषय त्यसमा रहेको भन्दै अधिकारीले स्पष्टीकरण नदिने अडान लिएका थिए।


मन्त्री किराँतीले सात दिनको समय दिँदै अधिकारीमाथि उडान सुरक्षामा प्रतिकुल असर गर्ने चरम लापरवाही गरेको, गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थल सञ्चालन गर्न नसकी कार्यक्षमता कमजोर देखिएको, २०७९/८० को संघीय संसदले पास गरेको बजेट तथा कार्यक्रमको बुँदा नं. १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने भनी उल्लेख भएकोमा प्रक्रिया अघि बढिरहेको अवस्थामा त्यस नीतिविपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिने, सञ्चारमाध्यमहरूमा अन्तर्वार्ता तथा अभिव्यक्ति दिनेजस्ता काम गरेको आरोप लगाउँदै स्पष्टीकरण सोधिएको थियो ।

अधिकारी महानिर्देशक भएपछि २ वटा यात्रु विमान र ३ वटा हेलिकप्टर दुर्घटना भइ धनजनको क्षति भई गम्भीर प्रश्न उठिरहँदा उड्डयन सुरक्षामा प्रभावकारी कार्ययोजना ल्याउन नसकेको पनि अधिकारीमाथि आरोप छ ।

सात दिनको समय दिएर सोधिएको स्पष्टिकरणको जवाफ अधिकारीले नदिएपछि मन्त्री किरातीले दोस्रो पटक चेतावनीसहितको स्पष्टीकरण मागेका थिए । 

अधिकारीसँग किन रिसाए मन्त्री ?
रामेश्वर थापाको सिम्रिक एयरलाई हेलीपोर्ट बनाउन दिने आफूले गरेको निर्णय महानिर्देशक अधिकारीले कार्यान्वयन नगर्दा रुष्ट भएका किराँतीले अघिल्ला महानिर्देशकहरुले गरेको निर्णयलाई पनि अधिकारीको टाउकोमा हालेर स्पष्टिकरण सोधेका थिए।

तत्कालिन महानिर्देशक सञ्जिव गौतमको समयमा भएको निर्णयलाई पनि मन्त्री किरातीले स्पष्टीकरणको आधार बनाएका थिए। गौतमले आफ्नै पालामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइनको आधारमा नै फाइलहरू सदर भएको स्वीकार गरिसकेका छन् । विमानस्थलको डिजाइनअनुसार सबै निर्णयहरू २०७५ मा सञ्चालक समितिले गरेको थियो । अधिकारी नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७८÷१०÷१७ को निर्णयानुसार प्राधिकरणको महानिर्देशक नियुक्त भएका हुन् ।

मन्त्री किरातीले पूर्व महानिर्देशक गौतमकै सल्लाह अनुसार अधिकारीलाई स्पष्टिकरण सोधेको स्रोतको दावी छ। मन्त्री किरातीले रामेश्वरलाई हेलिपोर्ट निर्माण गर्न सैद्धान्तिक सहमति दिनु र महानिर्देशक अधिकारीलाई स्वीकृतीको लागि दबाब दिइराख्नुले पनि उनको नियत सफा नदेखिएको वताईन्छ। 

यो पनि,

स्पष्टीकरण नदिएपछि क्यान महानिर्देशकलाई ‘बर्खास्त गर्ने तयारी’ गर्दै मन्त्री किराँती

सुदन किराँती नागरिक उड्डयन प्राधिकरण क्यान

विशेष