विराटनगरबाट जोगवनी हुँदै विदेश भाग्न विमानस्थल पुगेपछि पक्राउ परेका थिए राउत
बुबाको उपचारका वहानामा देश नै छोडेर भाग्ने तयारी गरेपछि प्रहरीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेको खुलेको छ।
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अख्तियारले मुद्दा नचलाई छोडेका राउत पछिल्लो समय भने चर्चामा आएका थिए। विभिन्न संचार माद्यममा उनको वारेमा समाचार समेत सार्वजनिक भए।
राउतले देश छोड्न लागेको सूचना पाएपछि प्रहरीले गृहमन्त्रीसँग छलफल गरेको थियो। गृहमन्त्रीले केही दिन पक्राउ नगर्न भनेपछि प्रहरीले उनलाई निगरानीमा राख्यो। यस क्रममा उनी आइतबार त्रिभुवन विमानस्थल पुगेको सूचना प्रहरीलाई आयो।
राउत विराटनगरबाट भारत हुँदै तेस्रो देश छिर्न लागेको सूचना पाएपछि गृहमन्त्रीको सल्लाह अनुसार नै सिआइवीको टोलीले एयरपोर्टबाटै पक्राउ गरको थियो। पक्राउ पर्ने सूचना पाएपछि उनले सञ्चार मन्त्रालयमा बुवा विरामी भनेर बिदा स्वीकृत गराएका खुलेको छ।
बुवा विरामी भएकोले भेट्न जान लागेको जानकारी उनले सञ्चारमन्त्री रेखा शर्मालाई समेत गराएका थिए।
राउतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने मुद्दा नचलाउने निर्णय गरेर छोडेको थियो। ०७६ माघ २२ गते यो प्रकरणमा संलग्न १७६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। अभियोग पत्रमा राउतलाई आयोगले प्रतिवादी बनाएको थिएन ।
सीआईबीकी निर्देशक किरण बज्राचार्यका अनुसार राउतले जग्गा हिनामिना गर्ने गिरोहलाई सहयोग हुने गरी भौतिक योजना तथा निर्माण मन्त्रालयमा हुँदा टिप्पणी उठाएका थिए । मन्त्रालयले ०७६ असार १७ गते रायका लागि पेश गरेको निर्णयको मिसिलमा उनको हस्ताक्षर छ ।
मन्त्रिपरिषद्ले ०६६ चैत २९ गते ‘प्रधानमन्त्री निवास विस्तार’ गर्ने भन्दै समरजंग कम्पनीको नाममा रहेको २७ रोपनी ७ आना जग्गा प्रधानमन्त्री निवासमा ल्याउने निर्णय गरेको थियो। त्यहाँ रहेका मोहीलाई अन्यत्रको जग्गा सट्टा भर्ना दिने भन्दै अर्को निर्णयसमेत भएको थियो । प्रस्तावको टिप्पणी उठाएका बेला उनको मन्त्रालयका उपसचिव नरहरी भण्डारी उपलब्ध थिएनन्। राउतले अधिकृतकै हैसियतमा प्रस्ताव उठाएका थिए ।
जापान पढ्न गएर फर्किएलगत्तै उनले टिप्पणी तयार गरेर फाइल अघि बढाएका थिए । मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यात, सहसचिव नारायणगोपाल मलेगो लगायतको दोस्रो चरणको निर्णयमा राउतको पनि भूमिका देखिएको सीआईबीले जनाएको छ।
सीआईबीले आइतबारै समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुव अर्याललाई पनि पक्राउ गरेको छ ।
ललिता निवास