पश्चिम बंगालको पञ्चायत चुनावमा हिंसा भड्किदा १६ जनाको मृत्यु

भारतको पश्चिम बंगालमा भएको पञ्चायत चुनाव हिंसात्मक बनेको छ। शनिवार भएको मतदानका क्रममा राज्यका विभिन्न स्थानमा हिंसा भड्किँदा १६ जनाको मृत्यु भएको छ ।
शनिबारको चुनावमा हिंसा हुनसक्ने आशंकामा एक लाख ३५ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । तर पनि विभिन्न ठाउँमा हिंसा हुँदा १६ जनाको हत्या भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मृत्यु हुनेमा अलग–अलग पार्टीका कार्यकर्ताहरु छन् । हिंसामा सबैभन्दा धेरै त्रिणमुल कांग्रेस (टीएमसी)का १० जनाको मृत्यु भएको छ । भारतीय जनता पार्टी (भाजपा)का ३ र भारतीय कम्युनिष्ट पार्टी (सीपीआई)का ३ जनाको मृत्यु भएको छ । हिंसाको दोष दलहरुले एकअर्कालाई लगाएका छन् ।
बम विष्फोट, गोली हानाहान, बुथमा तोडफोड र मतपेटिका लुटपाट हुँदा सुरक्षाकर्मी निरीह जस्तो देखिएका थिए ।
पश्चिम बंगालमा शनिबार एकै चरणमा पञ्चायत चुनाव भएको हो। चुनाव परिणाम ११ जुलाईमा घोषणा हुनेछ। यसअघि सन् २०१८ मा पनि पश्चिम बंगालमा पञ्चायतको चुनावमा हिंसा हुँदा १० जनाको ज्यान गएको थियो ।