News

धरानमा डेंगु संक्रमित धेरै भएपछि अस्पतालमा वेड अभाव, वडा कार्यालयमै राखेर उपचार

धरानमा डेंगु संक्रमित धेरै भएपछि अस्पतालमा वेड अभाव, वडा कार्यालयमै राखेर उपचार

धरानमा डेङ्गु संक्रमितको संख्या अत्याधिक वढेपछि अस्पतालमा वेडको अभाव भएको छ। संक्रमितलाई वडा कार्यालयमा राखेर उपचार गर्न थालिएको छ । 

धरानमा बुधबारसम्म ११ हजार ८२ जनाको परीक्षण गर्दा ७ हजार ६६६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । परीक्षण गरेकोमध्ये ६९ प्रतिशतमा पोजेटिभ छन्। डेङ्गु संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ।

धरानका हरेकजसो घरमा डेङ्गुका बिरामी छन् । डेङ्गु संक्रमित बढेपछि उपमहानगरपालिकाको वडा नं ८, ११,  १३, १४ र १५ ले संक्रमितलाई वडाभित्रकै विभिन्न भवनमा राखेर उपचार गरिरहेको छ । वडा कार्यालय, सभा गृह, उद्योग वाणिज्य संघको भवन लगायतका स्थानमा राखेर विरामीको उपचार भईरहेको १३ नं. वडाका अध्यक्ष नेत्रप्रसाद काफ्ले बताए।

साउन ११ गतेदेखि वडामा नै डेङ्गु जाँचका लागि रगत संकलन र बिरामीको उपचार गरिएको छ । वडामा दैनिक ५० देखि ८० जनासम्म बिरामी आउने गरेको उनले बताए । 

बिरामीको उपचारका लागि वडाको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीबाहेक चार जनालाई बाहिरबाट मगाइएको उनले बताए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेङ्गु संक्रमितको उपचारका लागि छुट्टै वार्ड र क्लिनिक सञ्चालन गरिरहेको छ । क्लिनिकमा बिहानदेखि बेलुकासँग जाँच लागि जाने सेवाग्राहीको लाइन हुन्छ ।


धरानमा २०७६ सालमा पनि डेङ्गु फैलिएको थियो । त्यतिबेला चार हजार ३०० जनामा संक्रमण देखिएको थियो । त्यसपछिका तीन वर्ष डेंगु प्रकोपकै रुपमा नफैलिए पनि गत वैशाखबाट पुनः फैलिएको हो।
 

विशेष