News

अदालतले सांसद सुनिल शर्मालाई थुनामा राख्न अनुमति दिएन

अदालतले सांसद सुनिल शर्मालाई थुनामा राख्न अनुमति दिएन

कांग्रेसका सांसद सुनील शर्मालाई थुनामुक्त गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई आदेश दिएको छ। न्यायाधीश दण्डपाणि शर्माको एकल इजलासले शर्मालाई थुनामुक्त गरेर अनुसन्धान गर्न आदेश दिएको हो।

शर्मालाई प्रहरीले म्याद थपका लागि जिल्ला अदालत उपस्थित गराएको थियो। नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा विहिबार बिहान काठमाडौंको गोल्फुटाबाट शर्मालाई पक्राउ गरिएको थियो। शर्माको पक्राउलाई लिएर नेपाली कांग्रेसका सांसदहरूले सरकारमाथि कडा आलोचना गरेका थिए ।

शर्मासँगै पक्राउ परेका अरुलाई भने अदालतले ५ र ७ दिनको म्याद दिएको सीआईबीका एसपी नवराज अधिकारीले जानकारी दिए । बिहीबार सीआईबीले शर्मा सहित महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, रौतहटका डा. रामबाबु यादव र डा. एरिना शाहलाई पक्राउ गरेको थियो ।

यस्तै शुक्रबार इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र  सुमेरु सिटी अस्पतालकी डा. पुनम थापा चौधरी पक्राउ परेका थिए । ब्युरोकी निर्देशक किरण बज्राचार्यले विगतदेखि नक्कली प्रमाणपत्र वाहक चिकित्सकहरुमाथि भइरहेको अपरेशनकै निरन्तरतामा विभिन्न व्यक्तिहरु पक्राउ परेको बताइन् ।

स्रोतका अनुसार, ब्युरोले १५ जना चिकित्सकलाई निगरानीमा राखेको थियो । तीमध्ये ७ जना पक्राउ परेकामा शर्मालाई थुना मुक्त गर्न आदेश भएको छ। 
 

सुनिल शर्मा

विशेष