News

सुन तस्करी प्रकरणमा ब्यापारी अडुकियाका छोरा रोहन र दुई चीनियाँ नागरिक पक्राउ

सुन तस्करी प्रकरणमा ब्यापारी अडुकियाका छोरा रोहन र दुई चीनियाँ नागरिक पक्राउ

सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी राकेशकुमार अडुकियाका छोरा रोहन अडुकिया पक्राउ परेका छन्। रोहनलाई शुक्रबार अध्यागमन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । 

भारतीय राहदानी प्रयोग गरेर इन्डिगो जहाजबाट नेपाल आएका उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको छ । उनका पिता राकेश भने सुन बरामदपछि फरार छन् । यसअघि अडुकियाको घरमा विभागले छापा मारेको थियो ।

अडुकियाले पछिल्लो नौ महिनामा १४ पटक नेपाल–हङकङ ओहोरदोहोर गरेको भेटिएको थियो । अभिलेखअनुसार नेपाली नागरिक रहेका उनले भारतीय राहदानीबाट विभिन्न मुलुकको यात्रा गरेका हुन ।

क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न दुई चिनियाँ नागरिक पनि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । हिमालय एयरलाइन्सबाट चीन भाग्न लागेका ली जियालिन र लिउ फुयानलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार बिहान नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएको थियो ।

ठमेलस्थित होटल भियनाबाट गत जुलाई ३ गते पक्राउ परेका दावा लामासँग यी व्यक्तिको सम्बन्ध रहेको अनुसन्धान टोलीले जनाएको छ । दावा लामाले चिनियाँ नागरिकलाई होटलको नाममा दर्ता भएका सवारी साधन उपलब्ध गराएर सहजीकरण गरेको खुलासा भएको छ ।

यी सवारी साधनहरू हालै पक्राउ परेका चिनियाँ नागरिकसहित विभिन्न व्यक्तिहरूले प्रयोग गरेका थिए। क्विन्टल सुन तस्करी प्रकरणमा अहिलेसम्म ५ विदेशीसहित २१ जना पक्राउ परिसकेका छन् । 

सुन तस्करी

विशेष