News

प्रचण्डलाई ओलीको चेतावनीः हतकडीको राजनीति यहीँ अन्त्य हुँदैन

प्रचण्डलाई ओलीको चेतावनीः हतकडीको राजनीति यहीँ अन्त्य हुँदैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिशोधका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले विरोधीहरुलाई ठेगान लगाउने रणनीति सुरु गरेको भन्दै यसको अन्त्य यहीँ नहुने चेतावनी दिएका छन्।

दाहालले नेपालमा पाकिस्तानी मोडेलको प्रतिशोधको राजनीति सुरु गरेको ओलीको आरोप छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्रीलाई धेरै नहौसिन चेतावनी दिँदै यसको अन्त्य यहाँ नहुने बताए।

‘उहाँलाई आज मजा लागेको छ। तर यो राजनीति यहीँ अन्त्य हुँदैन’ उनले भने–‘यो त सुरु भयो। यसको अन्त्य यहाँ हुँदैन। धेरै नहौसिन र अधिनायकवादी नहुन सरकारलाई म सम्झाउन चाहन्छु।’

सांसद सुनिल शर्मालाई पक्राउ प्रकरणमा बोल्दै उनले सुन काण्डबारे बोलेकै कारण शर्मालाई हतकडी लगाइएको आरोप लगाए।

‘सुनिल शर्माले के गरेका थिए? गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्छ भन्दा हतकडी लिएर उनको घरमा पठाइयो,’ उनले भने, ‘यो के हो भने, हाम्रो विरोधमा कोही बोल्छ भने सुनिल शर्मा बनाउँछौ भनेको हो।’

उनले सांसद शर्मालाई पक्राउ गरिनु सामान्य कुरा नभएको बताए। 
 

विशेष