News

विमानस्थलबाट पक्राउ परेका अडुकिया र दुई चिनियाँ नागरिकलाई सीआईबीले छोड्दियो

विमानस्थलबाट पक्राउ परेका अडुकिया र दुई चिनियाँ नागरिकलाई सीआईबीले छोड्दियो

सुन तस्करीको आरोपमा विमानस्थलबाट पक्राउ परेका व्यवसायी राकेश अडुकियाका छोरा रोहन अडुकिया र दुई जना चिनियाँ नागरिक थुनामुक्त भएका छन् ।

राजस्वले कालोसूचीमा राख्न गरेको सिफारिसका आधारमा अध्यागमन विभागले दुई चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई तथा अडुकियालाई पक्राउ गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई बुझाएको थियो ।

‘अनुसन्धानका क्रममा उनीहरुलाई अहिल्यै थुनामा राख्नुपर्ने कारण नदेखिएकाले चाहिएका बेला उपस्थित हुने गरी छाडेका छौं’, केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले भने । 

राजश्व अनुसन्धान विभागले साउन ३ गते मा हङकङबाट आएको १५५ किलो सुनसहितको ‘ब्रेक शु’ बरामद गरेको थियो । त्यसको १९ दिनपछि यसमा संगठित अपराधको कसूर आकर्षित हुने देखिएको भन्दै थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मा लगाएको थियो ।

राजश्वको पत्रका आधारमा अध्यागमन विभागले शुक्रबार रोहन अडुकियालाई पनि पक्राउ गरेको थियो । व्यवसायी राकेश अडुकियाका छोरा रोहन दिल्लीबाट आएलगत्तै पक्राउ परेका थिए । तर, उनको संलग्नता खुल्ने आधारहरु नदेखिएको भन्दै सीआईबीले बुझ्न मानेको थिएन । 
 

सुन तस्करी

विशेष