News

सरकारलाई दिएको समर्थन फिर्ता लिन सभापतिलाई कांग्रेस सांसदको दबाब

सरकारलाई दिएको समर्थन फिर्ता लिन सभापतिलाई कांग्रेस सांसदको दबाब

सत्ता गठवन्धनको सवैभन्दा ठुलो दल नेपाली कांग्रेसमा पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन दबाव सुरु भएको छ।

सांसद प्रदीप पौडेलले चर्चित भ्रष्टाचार प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन नगर्ने हो भने सरकारलाई दिएको समर्थन फिर्ता लिनु पर्ने वताएका हुन।

सरकारले उच्चस्तरीय समिति गठन गर्न नचाहेको उल्लेख गर्दै पौडेलले त्यसो भए प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थनमा कांग्रेसले पुनर्विचार गर्नुपर्ने बताए।

‘सबै चर्चित घटनाहरू छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने निर्णय कांग्रेस संसदीय दलले गर्नुपर्छ,’ पौडेलले भने, ‘सरकार उच्चस्तरीय छानबिन समिति बनाउन तयार नहुने हो भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिनुपर्छ।’

आइतबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै उनले गणतन्त्र आएदेखिका चर्चित भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गर्न सरकार तयार हुनुपर्ने र त्यसका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने बताए। 

यसैगरी, नेता शेखर कोइरालाले नेपाललाई सुन तस्करीको अखडाबाट मुक्त गर्न उच्चस्तरीय छानबिन समिति बनाउन आवश्यक रहेको बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिनको माग गर्दै दुई सातादेखि संसद् अवरुद्ध पारिरहेको छ । तर सत्ता गठबन्धन र सरकारले भने त्यस्तो छानबिन समिति बनाउन आवश्यक नरहेको दाबी गरिरहेका छन् ।

नेता कोइरालाले भने एमालेकै लाइनमा उच्चस्तरीय छानबिन समिति गठनको पक्षमा धारणा राखेका छन् । त्यसबारे छलफल गर्न बसेको पार्टीको संसदीय दलको बैठकमा नेता कोइरालाले नेपाल सुन तस्करीको अखडा बनिसकेको दाबी गर्दै त्यसबाट मुक्त गर्न उच्चस्तरीय छानबिन समिति जरुरी रहेको दाबी गरे ।

विशेष