आँखा पाक्ने रोगको प्रकोपः विमान कम्पनीले आँखा जाँचको रिपोर्ट माग्न थाले

‘कही नभएको जात्रा हाँडी गाउँमा’ भने झै नेपालमा नयाँ जात्रा सुरु भएको छ। विमान कम्पनीहरुले यात्रुहरुसँग आँखा जाँचको रिपोर्ट खोज्न थालेका छन् ।
आँखा पाक्ने समस्या देशैभरी फैलिएपछि विमानमा यस्ता यात्रुलाई कडाई गर्न थालिएको छ। तर त्यसको मापदण्ड भने तय भइसकेको छैन।
देशका विभिन्न स्थानमा आँखा पाक्ने रोगको प्रकोप फैलिँदै गएपछि अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीले उडानमा कडाइ गर्न थालेको जनाईएको छ। आँखा पाक्ने समस्या भएका बिरामीको चाप बढेपछि हवाई कम्पनीले उडान योग्यताको प्रमाणपत्र (फिट टु फ्लाई) खोज्न थालेका हुन्।
खास गरी यो ब्यवस्था नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्समा देखिएको छ। दुवै विमान कम्पनीले सूचना नै जारी गरेर सो रोगसँग सम्बन्धित लक्षण देखिएका यात्रुलाई यात्रा नगर्न आग्रह गरेका छन्।
आधिकारिक चिकित्सकीय निकायबाट आँखा पाक्ने रोग नभएको वा अन्य व्यक्तिलाई नसर्ने सुनिश्चित भएको प्रमाणपत्र पेस गरेर मात्रै उडानमा सहभागी गराउन उनीहरुले सूचित गरेका छन्।
हिमालय एयरलाइन्सले पनि आँखा रातो हुने रोग आँखा पाक्ने रोग नभएको स्पष्ट चिकित्सकीय प्रमाणपत्र लिएर मात्रै हवाई यात्रा गर्न आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हवाई आवागमनलाई लक्षित गरेर कुनै आधिकारिक मापदण्डसहितको निर्णय सार्वजनिक गरेको छैन। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई कम्पनीले आफूखुसी स्वास्थ्य परीक्षण रिपोर्ट खोज्न थालेपछि यात्रुलाई अन्योल र सास्ती हुन नदिन स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको जनाएको छ।