News

१ लाख ६५ हजार क्युसेक बाढीमा बाँध फुटाएको कोशीमा साढे ४ लाख क्युसेक वहाव

वाढीको वहाव ३४ वर्ष यताकै सवैभन्दा उच्च, ५६ वटै ढोका खोलिए

१ लाख ६५ हजार क्युसेक बाढीमा बाँध फुटाएको कोशीमा साढे ४ लाख क्युसेक वहाव

सप्तकोशी नदीमा आईतवार ३४ वर्ष यताकै सवैभन्दा वढी बाढीको वहाव मापन गरिएको छ। कोशी ब्यारेजका ५६ मध्ये सबै ढोका खोलिएका छन।

पानीको बहाव निकै बढेपछि गएराति देखि ५६ वटै ढोका खोलिएको प्रशासनले जनाएको छ। पूर्वी पहाडी जिल्लाहरूमा केही दिनयता निरन्तर पानी परेपछि सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्ष यताकै उच्च पुगेको छ।

सुनसरीकी सिडिओ हुमकला पाण्डेले सप्तकोशीमा १९८९ पछिकै उच्च बाढी रेकर्ड भएको बताइन्। उनका अनुसार १९८९ मा ४ लाख ७२ हजार क्युसेक मापन भएको थियो। आईतवार चार बजे ४ लाख ६२ हजार क्युसेक मापन भएकोमा बिहान साढे ७ बजे घटेर ४ लाख ४० हजारमा झरेको थियो। 

०६५ भदौ २ गते सप्तकोसी बाँध फुट्दा पानीको वहाव १ लाख ६८ हजार क्युसेक मापन गरिएको थियो। सुनसरीको पश्चिम कुसाहामा पूर्वी तटबन्ध भत्काएर को गाउँ पस्दा एकजनाको ज्यान गएको थियो भने ९० जना घाइते भएका थिए । सात हजार पाँच सय ७२ घरका ४२ हजार आठ सय विस्थापित भएका थिए ।

बाढीले १२ किलोमिटर कालोपत्रे सडक र १३ किलोमिटर कच्ची सडक बगाउँदा लामो समयसम्म यातायात अवरुद्ध हुनुका साथै दर्जनौँ विद्युतका पोल क्षतिग्रस्त भएका थिए। सप्तकोसी नदीले त्यसवेला भारतको बिहार राज्यको १८ वटा जिल्लालाई डुबाएको थियो र बाढीबाट ३३ लाख मानिस प्रभावित भएका थिए । 

दिउँसो १२ बजेर ४४ मिनेटमा मानवबस्तीमा प्रवेश गरेको बाढी १३ माघसम्म जलमग्न थियो। 

किन बढ्दैछ बर्सेनि खतरा?
सन् १९५४ को कोसी सम्झौता अनुसार सन् १९६४ मा कोसी ब्यारेजको निर्माण पूरा भएको थियो। २५ अप्रिल १९५४ मा भएको सम्झौतामा नेपाल सरकारको तर्फबाट योजना, विकास तथा भूमिसुधार मन्त्री महावीर शमशेर र भारतको तर्फबाट योजनामन्त्री गुलजारीलाल नन्दाले हस्ताक्षर गरेका थिए।

५५ वर्ष पुरानो यो ब्यारेजले निर्माणताका ९ लाख ५० हजार क्युसेक पानी थेग्ने क्षमता थियो। तर, अहिले बालुवाले नदीको ‘बेस’ उकासेकाले ब्यारेज र बाँधको क्षमतामा ह्रास आएको छ। ब्यारेजको क्षमता ६ लाख क्युसेक प्रतिसेकेन्ड पानीको बहाब थेग्न सक्ने अनुमान छ। तर, विश्वकै उच्च बालुवा बोक्ने नदीमा पर्ने कोसीमा अहिले १ लाख ५० हजार क्युसेक पानीको बहाव पुगेपछि खतराको संकेत देखाइन्छ। पुलको दुवैतर्फ रातो झन्डा र रातो बत्ती बालेर खतराको संकेत गर्ने गरिएको छ। 

ब्यारेजका पर्याप्त ढोका नखोलिँदा कोसी ब्यारेजको बाँध भत्किने खतरा छ। २०६५ भदौ २ गते कोसी तटबन्ध भत्किँदा ब्यारेजमा पानीको बहाव १ लाख ६८ हजार क्युसेक मात्र थियो। कोसीलाई बिहारको दुःख का नामले पनि चिनिन्छ। 

कोशी सप्तकोशी

विशेष