News

ओली–रावल वार्ताः यस्तो पनि हुन्छ सहमति ?

ओली–रावल वार्ताः यस्तो पनि हुन्छ सहमति ?

लामो समयदेखि भेटघाट नगरेका एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व उपाध्यक्ष भीम रावलबीचि आज भेटवार्ता भएको छ। मंगलबार ललितपुरको पार्टी कार्यालय च्यासलमा उनीहरूबीच भेटवार्ता भएको हो। 

कुराकानीका क्रममा फेरी पनि कुराकानी गर्ने सहमति भएको रावले वताए। भेटपछि पत्रकारहरूसँग छोटो कुराकानी गर्दै उनले आ–आफ्ना विचारहरू राख्ने र सामान्य कुराकानी भएको जानकारी दिए।  

‘हाम्रोबीच भेट नभएको धेरै भएको थियो। र आज भलाकुसारी ग¥यौं। के छ, कस्तो छ, र अहिले देशको स्थिति, पार्टीको अवस्था के छ, कस्तो छ। यसमा हाम्रा सोच दृष्टिकोणहरू के छ’ उनले भने–‘त्यसमा सामान्य कुराकानी भयो। अब फेरि कुराकानी गर्ने भन्ने भयो।’

रावल पार्टीमै रहे पनि कुनै पनि जिम्मेवारीमा छैनन्। पछिल्लो समय उनी पार्टीका गतिविधिमा निष्क्रिय नै छन्। 

०७८ मा चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा रावलले ओलीविरूद्ध अध्यक्षमा उम्मेदवारी दिएका थिए। त्यसपछि उनीहरूबीच तिक्ततापूर्ण सम्बन्ध रहेको थियो। गत चुनावमा ओलीले रावललाई प्रत्यक्षतर्फ उम्मेदवार बन्न टिकट दिएका थिएनन्।

गत चैतमा रावलसँग संवाद गर्न उपाध्यक्ष बिष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन भएको थियो। तर, टोलीको उपलब्धि अहिलेसम्म देखिएको छैन।

विशेष