News

भारतीय दूतावासले काठमाण्डौंमा मनायो ७७औं स्वतन्त्रता दिवस

भारतीय दूतावासले काठमाण्डौंमा मनायो ७७औं स्वतन्त्रता दिवस

काठमाण्डौंस्थित भारतीय दूतावासले आफ्नो ७७ औं स्वतन्त्रता दिवस मनाएको छ । मंगलबार राजदूतावासमा ७७ औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको हो । 

स्वतन्त्रता दिवसको सो अवसरमा भारत सरकारको तर्फबाट दूतावासले भारतीय झण्डा फहराएर कार्यक्रम सुरु गरेको थियो । कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिएको सन्देश भिडियोको माध्यमबाट प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त भएका नेपालीका परिवारलाई समेत सम्मान गरिएको थियो । उनीहरूलाई भारत सरकारको तर्फबाट भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेकाहरूको सम्मानमा गीत, संगीत र नाच प्रस्तुत गरिएको थियो । स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त नेपाली परिवारलाई आर्थिक सहयोगसहित खाद्यान्न, कपडाहरू पनि वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले २०४७ मा भारत स्वतन्त्र भएको सय वर्ष पूरा हुने सो समयसम्म भरत अमृतकालको रुपमा मनाउने र भारतलाई आत्मनिर्भर बनाउनेमा जोड दिने बताए । उनले स्वतन्त्रता दिवसको अवसरमा भारत र नेपालबीचको सम्बन्ध अझै प्रगाढ बनाउँदै जाने संकल्प लिएको बताए ।

‘२०४७ मा भारत स्वतन्त्र भएको सय वर्ष पुग्नेछ । सो अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई पूर्णतः विकसित देश बनाउने लक्ष्य लिनुभएको छ । आगामी २५ वर्षमा अमृतकालको समय बनाएर पूर्ण रुपमा आत्मनिर्भर भारत बनाएर जुन संकल्प लिनुभएको छ, त्यसलाई हासिल गर्न आफ्नो तर्फबाट योगदान दिनुपर्छ’ उनले भने–‘हाम्रो देशमा विश्वको सबैभन्दा ठूलो लोकतन्त्र छ । सबै गणतान्त्रिक देशका लागि भारत एक बहुसांस्कृतिक देश हो । भारत र नेपालको बीचमा गहिरो सम्बन्ध छ, यो नातालाई अझै मजबुत बनाउँदै लैजानेछौं । साथै नेपालका नायकहरूलाई हामी सम्झन्छौं, जो भारत स्वतन्त्रताका लागि सम्मान गर्छौं, उनीहरूलाई भारतले बिर्सिन सक्दैन ।’

स्वतन्त्रता दिवसको अवसरमा भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त भएका नेपालीहरूको सम्मानका लागि भारतीय राजदूतावासमा नाचगान, वाद्यवादनसहित कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए ।

विशेष