News

उपचार नपाएर एक महिनामै हुम्लाका चार बालकले ज्यान गुमाए, यातायात मुख्य समस्या

उपचार नपाएर एक महिनामै हुम्लाका चार बालकले ज्यान गुमाए, यातायात मुख्य समस्या

मौसमको खरावीका कारण नियमित हवाई उडान नहुँडा विगत एक महिनामा उपचार नपाएर हुम्लाका चार जना बालकको ज्यान गएको छ।

जिल्ला अस्पतालले सुविधा सम्पन्न अस्पतालमा रेफर गरेपनि त्यहाँसम्म पुग्ने विकल्प नहुँदा ती बालबालिकाले ज्यान गुमाउनु परेको हो। जिल्लाको एक मात्र सिमकोट विमानस्थलमा लामो समयदेखि हवाई उडान भएको छैन। यसको असर विरामीलाई परेको छ।

विमान नचल्दा अस्पताल पुर्याउन नपाएर सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका ६ महिनाका इमरान सुनार, सिमकोट–७, डाँडाफयाका सात महिनाका रोहित शाही, खार्पुनाथ–१ लालीका १७ महिनाका आर्यन परियार र चङखेली–४ का पाँच महिनाका बालक सन्देश लुवारले उपचार अभावमा ज्यान गुमाएका छन्।

नागरिक उड्डयन प्राधिकरणले हिमाली जिल्लामा मध्याह्न साढे १२ बजेपछि उडान गर्न नपाइने नयाँ नियम लागू गरेसँगै हुम्लामा हवाई सेवा नियमित छैन। बर्खाको बेला हुम्लामा बिहान मौसम खराब रहने र प्राधिकरणको नयाँ नियमानुसार साढे १२ बजेपछि उडान गर्न नपाइने भएकाले बिरामीलगायत अत्यावश्यक कामले जिल्लाबाहिर जानुपर्नेहरु बढी समस्यामा परेका छन्।

जिल्ला अस्पतालले उपचार हुन नसक्ने भन्दै रिफर गरेका ६ महिनाका इमरानको जहाज उडान नियमित नहुँदा उपचारका जिल्लाबाहिर लैजान नसक्दा मृत्यु भएको बालकका बुबा सिमकोट गाउँपालिका–६ का सुरज सुनारले गुनासो पोखे।

आर्थिक अवस्था कमजोर हुनाका साथै जिल्लामा हवाई सेवा सञ्चालन नहुँदा छोरा गुमाउनु परेको उनको दुखेसो छ। अस्पतालका चिकित्सक डा. रोशन रावतका अनुसार सुनारलाई यही साउन १७ गते उपचारका लागि अन्यत्र लैजान सिफारिस गरेको थियो। निमोनिया भएपछि उनलाई साउन १४ गते अस्पताल भर्ना गरिएको थियो।

सुनारको यही साउन २६ गते अस्पतालमै मृत्यु भएको जनाईएको छ। 
 

विशेष