News

चितवनमा बस, जिप, ४ मोटरसाइकल र २ स्कुटर आपसमा ठोक्किँदा २० जना घाइते

चितवनमा बस, जिप, ४ मोटरसाइकल र २ स्कुटर आपसमा ठोक्किँदा २० जना घाइते

चीतवनमा बस, शव बोकेको जिप, मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिका–९ मा दुर्घटना भएको हो।

गोन्द्राङ नजिकै टिकौली जंगलमा बुधबार दिउसो भएको दुर्घट्नामा घाईते मध्ये ५ जनाको अवस्था गम्भिर छ। नारायणगढबाट रत्ननगर जाँदै गरेको गैंडाकोट अक्सफोर्ड कलेजको ना १ क ६१३१ नम्बरको बसले शव बोकेर रत्ननगरबाट देवघाट जाँदै गरेको ना २ च ८४४६ नम्बरको बोलेरो जिपलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा अन्य चारवटा मोटरसाइकल र दुईवटा स्कुटर पनि आपसमा ठोक्किएका थिए। उक्त दुर्घटनामा घाइतेमध्ये १२ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये चितवन खैरहनी नगरपालिका–४ का ६०÷६५ वर्षीय कृष्णबहादुर तमाङ, खैरहनी–१ का ८२ वर्षीय जीतबहादुर तमाङ, रत्ननगर नगरपालिका–१४ का ५५ वर्षीय कुसुमबहादुर राना मगर र सोही ठाउँका ५५ वर्षीय डोलबहादुर कार्कीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

त्यसैगरी रत्ननगर–१४ कै ३८ वर्षीय सुरेश श्रेष्ठ र रत्ननगर–९ का ३५ वर्षीय किशोर तमाङ तथा मकवानपुर हेटौंडा–१४ का ६५ वर्षीय मोहन तमाङको अवस्था पनि गम्भीर रहेको डीएसपी पण्डितको भनाइ छ ।

अन्य घाइतेमध्ये सात जनको पुरानो मेडिकल कलेज (सीएमएस) र एक जनाको चितवन मेडिकल कलेज (सिएमसी)को भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले कलेजको बसका चालक नवलपरासी गैंडाकोट–९ का २६ वर्षीय आशीष परियारलाई नियन्णत्रणमा लिएको छ । 
 

विशेष