बालकृष्ण र मञ्जु खाँण विरुद्ध अख्तियारले पनि थाल्यो अनुशन्धान
आम्दानीको स्रोत देखाउन शिर्षक खोज्दै कांग्रेस संसदीय कार्यालयमा मञ्जुको दौडधुप
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनकी पत्नी मञ्जु खाँणमाथि भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ।
०७४ सालदेखि सार्वजनिक पदमा रहेका कांग्रेस सांसद खाँण ०७९ पुससम्म गृहमन्त्री थिए । उनी रुपन्देहीबाट निर्वाचनमा पराजित भएलगत्तै पत्नी मञ्जु खाँण समानूपातिकबाट सांसद भएकी थिइन् । अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा उनीहरुमाथि अनुशन्धान गरिरहेको छ।
केही दिनअघि उनीहरु दुवैजनालाई बोलाएर आयोगले सम्पत्ति अनुसन्धान सम्बन्धी फारम भराउनुका साथै सोधपुछ समेत गरेको स्रोतले जनाएको छ। खास गरी शरणार्थी प्रकरणका बारेमा उजुरी परेको र त्यसकै आधारमा अनुसन्धान सम्पत्तिमा केन्द्रीत गरिएको अख्तियार स्रोतले जनाएको छ।
स्रोतका अनुसार पछिल्लो समय मञ्जुले अघिल्ला वर्षहरुको आम्दानी अभिलेखिकरण गर्ने र त्यसको हिसावकितावबारे चासो राख्ने गरेकी छिन्। उनले यसअघि सरकारी निकायहरुले गरेको भुक्तानीको विवरण पाउने ठाँउबारे समेत कांग्रेस संसदीय दलको कार्यालयमा सोधपुछ गरेको स्रोतको दावी छ।
अख्तियारले कुनै पनि सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गरेपछि आम्दानीको बैध स्रोत पुष्टि गर्नुपर्ने हुन्छ । आम्दानीको स्रोत देखाउन नसक्नेमाथि गैरकानूनी आर्जनको अभियोग लाग्छ र भ्रष्टाचारको मुद्दा चल्छ ।
नक्कली शरणार्थी प्रकरणमा ठगी, किर्ते, संगठित अपराध र राष्ट्रहित विरुद्धको कसुरको आरोपमा जिल्ला अदालत काठमाडौंको आदेशपछि खाँण थुनामा छन् । खाँणमाथि घुसबापत एक करोड २४ लाख ५० हजार रुपैयाँ नगद लिएको आरोप छ ।
प्रहरीको दावी अनुसार, केशवप्रसाद दुलाल र सानु भण्डारीले बयानमा उनले रकम लिएको स्वीकारेका थिए ।