News

सुन तस्करी प्रकरणमा हालसम्मकै उच्च तहका दुई चिनियाँ नागरिक पक्राउ

सुन तस्करी प्रकरणमा हालसम्मकै उच्च तहका दुई चिनियाँ नागरिक पक्राउ

६० किलो सुन तस्करी प्रकरणमा सीआईबीले धमाधम चिनियाँ नागरिक पक्राउ गरिरहेको छ। गए राती पनि दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।

काठमाडौंबाटै पक्राउ परेका उनीहरुको नाम प्रहरीले खुलाएको छैन । यद्यपि, हालसम्म पक्राउ परेकामध्ये उनीहरु सबैभन्दा उच्च तहमा काम गर्ने व्यक्ति भएको स्रोतको दावी छ।

प्रहरीले गएको बिहीबार पनि चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरुमध्ये डिङ सेल्फा र ली नेङ्काई सुन ओसारपसारमा संलग्न व्यक्ति भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले ललितपुरको डाउन टाउन अपार्टमेन्टमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुसँगै बस्ने प्रबन्ध मिलाइदिने ठमेलस्थित केटीबी काराओके रेष्टुरेन्टका दुई सञ्चालक पनि हिरासतमा छन् । रेष्टुरेन्ट ठमेलको होटल भियना नजिकै छ ।

राजश्व अनुसन्धान विभागले भन्सार जाँचपास कटेर बाहिरिएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’  साउन २ गते वरामद गरेपछि १९ दिनसम्म अनुसन्धान गरेको थियो। संगठित अपराध देखिएको भन्दै थप अनुसन्धानको जिम्मा सीआईबीलाई दिईएको छ।

हालसम्म २३ जना पक्राउ परेका छन्। 

सुन तस्करी

विशेष