News

विराटनगरको ग्रिनक्रश अस्पतालबाटै नबजात शिशु गायव, डाक्टर र प्रेमी प्रक्राउ

विराटनगरको ग्रिनक्रश अस्पतालबाटै नबजात शिशु गायव, डाक्टर र प्रेमी प्रक्राउ

विराटनगर ९ स्थित ग्रीनक्रस अस्पतालबाट नवजात शिशुलाई गायब गरेको आरोपमा प्रहरीले सोही अस्पतालमा कार्यरत डाक्टर तपेश्वरलाल कर्ण र शिशुका पिता भनिएका भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोबिन्द राईलाई पक्राउ गरेको छ।


कोशी अस्पतालका पूर्वमेडिकल सुपरीटेण्डेन्टसमेत रहेका कर्ण प्रसूति रोग विशेषज्ञ हुन। ग्रिनक्रस अस्पतालमा काम गर्ने कर्णको आफनै दीपेश मेडिकल क्लिनिक पनि छ।

प्रहरीका अनुसार गोविन्दले नै गर्भवती युवतीलाई अस्पतालमा लगेको र अस्पतालबाट डिस्चार्ज भएपछि इटहरी स्थित एक होटलमा लगेर राखेको खुलेको छ। आमालाई होटलमा लगेर राखेपछि बच्चा लिएर आउँछु भन्दै निस्किएका उनी सम्पर्क विहिन भएका थिए। प्रहरीले उनलाई गत शुक्रबार पक्राउ गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार गोविन्दले गर्भवती २६ वर्षीया युवतीलाई ग्रीनक्रस अस्पताल नजिकै रहेको दिपेश मेडिकल क्लिनिकमा लगेका थिए । क्लनिकमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ भनिएका डा. कर्णले गर्भवतीको परीक्षण गरेका थिए । परीक्षणपछि उनले प्रसूतिको समय भएको भन्दै ग्रिनक्रस अस्पताल भर्ना हुन भनेका थिए ।

त्यसपछि ती युवतीलाई राईले असार १३ गते अस्पतालमा भर्ना गरेका थिए । भर्ना गर्ने बेला गोबिन्द राईले आफ्नो नाम मानबहादुर तामाङ र गर्भवतीको नाम फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ लेखाएका थिए ।

युवतीले असार १४ गते नर्मल डेलिभरी मार्फत छोरी जन्माएकी थिइन् । अस्पतालमा सोही दिन डिस्चार्ज गरेको थियो । त्यसपछि गोविन्दले नै ती युवतीलाई इटहरीको एक होटलमा लगेर राखेका थिए । युवतीले बच्चा खोई भनेर सोध्दा गोबिन्दले अस्पतालमा उपचार हुँदैछ भन्ने जवाफ दिएका थिए । होटलमा बसेको दुई दिनपछि राई अस्पताल जान्छु भन्दै हिँडेका थिए । तर उनी होटल फर्किएनन् ।

त्यसपछि युवती प्रहरी कार्यालय पुगेकी थिइन् । सुत्केरी अवस्थामा अलपत्र परेकी युवतीले साउन ३२ गते उपचारमा संलग्न चिकित्सक र गोविन्दविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिइन् । जाहेरी परेपछि डा. कर्ण र गोविन्दलाई पक्राउ गरिएको डिएसपी दाहालले बताए ।

प्रहरीका अनुसार डा. कर्णले ८ महिना पूरा भएर ९ महिना लागेको बच्चा जन्मिएपछि थप उपचारका लागि अन्यत्र लैजानु भनेर गोविन्दलाई शिशु जिम्मा लगाएको दावी गरेका छन् भने गोविन्दले भने आफूलाई अस्पतालले बच्चा नै नदिएको बताएका छन् ।

पक्राउ परेलगत्तै अन्दाजी ६८ वर्षीय डा. कर्ण उच्च रक्तचाप र मधुमेहको समस्या रहेको भन्दै उपचारका लागि कोसी अस्पतालमा भर्ना भएका छन्। प्रहरीकै निगरानीमा उनको उपचार भइरहेको छ। अस्पताल भर्ना भएपछि उनीमाथि थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गोविन्द र ती युवती प्रेमी–प्रेमिका हुन् । गोविन्दले युवतीलाई बिहे गर्ने प्रलोभन दिएका थिए। तर सुत्केरी अवस्थामा छोडेर हिँडेको र वच्चा समेत वेपत्ता पारेकाले उनको भुमिका शंकास्पद देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। 

ग्रीनक्रस अस्पताल

विशेष