News

राष्ट्रिय दलको वैठकमा टसमस भएन एमाले, निस्कर्ष विहिन भएर उठे नेता

राष्ट्रिय दलको वैठकमा टसमस भएन एमाले, निस्कर्ष विहिन भएर उठे नेता

प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको राष्ट्रिय दलको बैठक बिना निष्कर्ष टुंगिएको छ। दाहालले साउन १० देखि अवरुद्ध भएको संसदको गतिरोध अन्त्यका लागि वैठक वोलाए पनि एमालेको अडानका कारण वैठक निस्कर्षमा पुग्न सकेन।

सदन सञ्चालन गर्ने विषयमा छलफल गर्न दाहालले संसदमा भएका प्रमुख दलहरुको बैठक बोलाएका थिए । सिंहदरबारमा भएको छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने आफनो अडान छोडेन।

उच्चस्तरीय समिति बनाउने एमालेको प्रश्तावमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयोग वा समिति बन्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको अनुसन्धान प्रभावित हुनसक्ने चिन्ता व्यक्त गरेका छन् ।

सीआईबीले पाएको समय अब दुई साता मात्र छ । त्यसैले त्यो बेलासम्म हेर्ने कि भन्ने पनि छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जानकारी दिए । यद्यपी छलफलको निचोड ननिस्कँँदा संसदको गतिरोध अन्त्य हुन नसकेको उनको भनाई छ।

बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बैठकमा छलफल सकारात्मक ढंगले अघि बढे पनि निष्कर्षमा नपुगेको बताए । ‘आजको छलफल सकारात्मक ढंगले अघि बढेको छ, सोमबार वा मंगलबार फेरि अर्को बैठक बस्ने र छलफल गर्ने भन्ने कुरा भयो,’ उनले भने ।

आइतबारको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित रहे । नेताहरूले ओली अस्वस्थ भएका कारण बैठकमा सहभागी नभएको बताएका छन् । एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी बैठकमा सहभागी थिए । 

विशेष