आङकाजी शेर्पा प्रहरी कार्यालयमा ढुंगा हान्न पुगेपछि...

आङकाजी शेर्पाको नेतृत्वमा काठमाडौं प्रहरी परिसरको कार्यालयमा ढुंगामुढा गरिएको छ। अधिवक्ता शीतल पाण्डेलाई पक्राउ गर्न माग गर्दै पुगेको उक्त समुहले प्रहरी कार्यालयमा ढुंगामुढा गरेको हो।
शेर्पाको नेतृत्वमा ढुङ्गा हाने १०/१२ जना प्रहरी घाईते भएपछि प्रहरीले पनि उनीहरुलाई जवाफ दिएको छ। सो क्रममा दुवै पक्षबाट हानाहान भएको थियो । प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहरी गरेको छ भने केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार आङकाजी शेर्पाको नेतृत्वमा गएको समूहले आन्दोलन थालेको थियो । जनजाति महासंघका पूर्व महासचिव शेर्पा अराजक गतिविधिका कारण पक्राउ समेत परेका थिए। फेसबुक स्टाटसलाई लिएर शेर्पालाई प्रहरीले ०७२ साल भदौमा पक्राउ गरी साइबर क्राइममा मुद्दा चलाइएको थियो ।
पछि उनी २० हजार धरौटीमा छुटेका थिए। उनै शेर्पा केही दिनअघि पाण्डेले तामाङ र मगर समूदायमा दाजुभाईबीच विवाह हुने र त्यसैबाट आपराधिक गतिविधि बढ्ने धारणा राखेको विरोधमा आन्दोलनमा उत्रिएका हुन।
प्रहरीले अधिवक्ता पाण्डेलाई आज बिहानै नियन्त्रणमा लिएको थियो ।