News अपराध सुरक्षा

सुनकाण्डले नारायणकाजीको मरिचको हालः महरा निवास पनि पुगेनन, के पुग्थे ‘कोट’ र ‘टार’

गृहमन्त्री श्रेष्ठले महरा निवास जाने बाटो भुलेपछि...

सुनकाण्डले नारायणकाजीको मरिचको हालः महरा निवास पनि पुगेनन, के पुग्थे ‘कोट’ र ‘टार’

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले साउन ५ गते सुन तस्करी प्रकरणलाई जरैसम्म पुगेर निर्मुल पार्ने दावी गरे। विमानस्थल भन्सार र अध्यागमन कार्यालयको अनुगमन गर्न पुगेका श्रेष्ठले भ्रष्टाचार र अपराध अनुसन्धानका क्रममा आफुले कुनै ‘कोट’ र ‘टार’ को मतलब नगर्ने बताए।

तर, सुन तस्करी प्रकरणमा आफनै पार्टीका नेताको संलग्न देखिन थालेपछि भने श्रेष्ठ घट्नालाई ढाकछोप गर्नतर्फ लागेका छन्। खास गरी पूर्वसभामुख कृष्णवहादुर महरा, उनका छोरा राहुल र नेता वर्षमान पुनको नाम सुन तस्करीमा जोडिएको छ। महराका बाबुछोराको संलग्नता प्रहरी पुष्टि नै गरेर गोप्य प्रतिवेदन अदालतमा वुझाएको छ।

प्रहरीको विशेष अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुशन्धानमा सुन तस्करीमा महरा र उनका छोरा राहुलको संलग्नता देखिएपनि गृहमन्त्री श्रेष्ठले उनीहरुलाई जोगाएर तस्करीमा संलग्न अन्य नौ अभियुक्तविरुद्ध मात्र मुद्दा अघि बढाउन निर्देशन दिएको प्रहरी स्रोतले दाबी छ।

गत १० पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले जफत गरेको नौ किलो ११.५२४ ग्राम सुन छुटाउन महरा र उनका छोरा राहुलले शक्तिको दुरूपयोग गरेका थिए । भन्सार कर्मचारीले जफत गरेको सुन छाड्न नमानेपछि अस्वाभाविक रूपमा लिलाम गराएर विमानस्थलबाटै बेचबिखन गरिएको थियो ।    

इलेक्ट्रिक सिगरेट (भेप)भित्र लुकाएर ल्याइएको सो सुनको बजार मूल्य आठ करोड ५५ लाख रुपैयाँ हुन्छ । भेपमा लुकाएर सुन ल्याउने चिनियाँ नागरिक ली हानसङसँग महरा बाबुछोराको सम्पर्क देखिएको र सुन पक्राउ परेपछि छुटाउन अस्वाभाविक रूपमा भन्सार अधिकारीहरूलाई दबाब दिएको प्रहरी अनुसन्धानमा खुलेको हो । 

सुन ल्याउने र भन्सारमा रोकिएपछि त्यहीँबाट बेच्ने सञ्जालमा महरा बाबुछोरा संलग्न रहेको सीआईबी प्रतिवेदनले किटान गरे पनि गृहमन्त्री श्रेष्ठले उनीहरूलाई जोगाएका थिए । अनुसन्धानका लागि सीआईबीले महरा बाबुछोरालाई पक्राउ गर्ने तयारी पनि गरेको थियो । तर, गृहमन्त्री श्रेष्ठले रोकेका थिए ।

१० पुसमा चिनियाँ नागरिक ली हानसङको ल्याएको सामानमा ७३ बट्टामा ७३० थान भेप भेटिएको थियो । अनुसन्धानका क्रममा भेपभित्र सुन भेटिएपछि विमानस्थल भन्सारले जफत गरेको थियो ।

उक्त प्रकरणमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालको इजलासले आरोपी ९ मध्ये पाँच जनालाई थुनामा राख्ने आदेश गरेको हो । उनीहरू सबै जफत भएको सुन गैरकानुनी रूपमा बेचबिखन गर्नेहरू हुन् । 

सीआईबीले कल डिटेल रेकर्ड प्रतिवेदनअनुसार सुन ल्याउने समूहमा रहेका चाइनिज नागरिक लुई, दाओजिन वाङ, लोकेन्द्र पौडेल, खुवाप्रसाद न्यौपाने र राहुल महराबीच बारम्बार सम्पर्क देखाएको खुलाएको छ । त्यस्तै, कृष्णबहादुर महरा र भन्सार कर्मचारी मुक्तिप्रसाद श्रेष्ठबीच यसै विषयमा सम्पर्क भएको प्रतिवेदनमा भनिएको छ।

नक्कली भुटानी शरणार्थी र ललितानिवास जग्गा हिनामिना प्रकरणमा सांसद एवम् एमाले सचिव टोपबहादुर रायमाझी र कांग्रेसका नेता बालकृष्ण खाँण, बहालवाला सचिवसहित दर्जनभन्दा वढि शक्तिशाली व्यक्तिलाई पक्राउ परेको जस लिन खोजेका गृहमन्त्री सुन प्रकरणले मरिच जस्तै चाम्रिएको स्रोत वताउँछ।

आफ्नै पार्टीका नेताको संलग्नता खुलेपछि उनले सुन प्रकरणमा अनुसन्धान नै रोकेको जनाईएको छ। यसले ‘अपराधमा संलग्नता खुले कसैलाई पनि छोड्दिनँ’ भन्ने उनका उनको इमान्दारितामाथि गम्भिर प्रश्न उठेको छ । अहिले कतिपय नेताले ‘गृहमन्त्रीले महरा निवास जाने बाटो भुले’ भन्दै आलोचना गर्न थालेका छन्।

सुन तस्करी

विशेष