बलात्कार आरोपी बस्नेतको मृत्यु भएपछि सानोठिमीको बाल सुधार गृहमा तोडफोेड
बलात्कारको आरोपमा मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहको थुनामा रहेका एक युवकको आइतबार रहस्यमय मृत्यु भएपछि तोडफोड भएको छ।
रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु हो। मृतकका आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गर्दै तोडफोडसमेत गरेका छन्।
रामेछापबाट ०७७ जेठ २९ गते बलात्कार मुद्दामा सुधार गृहमा राखिएका बस्नेत आइतबार बिहान अचानक बेहोस भएपछि उपचारका लागि गठ्ठाघरस्थित नागरिक अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सुधार गृहले आइतबार परिवारलाई मृत्यु भएको खबर दिए पनि मृत्युको कारण स्पष्ट गराएको छैन। सो विषयमा वुझ्न खोज्दा उल्टै प्रहरी वृत्त थिमिका प्रहरीले दुर्व्यवहार गरेको आफन्तले आरोप लगाएका छन् । उनीहरुले समयमै उपचार नपाउँदा ज्यान गएको भन्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरे।
घटनापछि आइतबार अपराह्न जिल्ला सुरक्षा समितिका संयोजक एवं सीडीओ खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले घटनाबारे यथार्थ बुझ्न सहायक सीडीओ डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।
रिजालले घटनाको अनुसन्धान तथा छानबिन गरी सत्यतथ्य ल्याउन निरौलाको नेतृत्वमा प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठक, जिल्ला प्रशासन कार्यालयका अधिकृत अशोककुमार पोखरेल सदस्य सचिव र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकृत प्रतिनिधि सदस्य रहेको छनबिन समिति गठन गरेको जानकारी दिए ।
समितिलाई सात दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिईएको छ। मृतकको बाया खुट्टाको तिघ्रामा पिलो आएको र पहिलादेखि नै आँखामा समस्या रहेको तर बेहोसको कारण खुल्न नसकेको भन्दै घटनाबारे आवश्यक छानबिन गरिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले बताए।
सुधार गृहका इन्जार्च सन्तुलन देशेमरुले मृतक बस्नेत शनिबार साँझ खाना खाएर सुतेको तर राति उठेर ज्वरो आयो भन्दै औषधि मागेर खाएको जानकारी दिए । औषधि खाएर सुते पनि बिहान बेहोस भएपछि तत्कालै अस्पताल लगेर उपचार गर्ने क्रममै मृत्यु भएको उनको भनाई छ।
ज्वरो आएपछि शनिबार नै नेपाली सेनामा रहेका मृतकका दाजुलाई बिरामीका बारेमा जानकारी दिएर बोलाएको उनले बताए । युसेप नेपालको व्यवस्थापनमा नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेको बाल सुधार गृहमा क्षमताभन्दा बढी बालबन्दी रहेका छन् ।