News

माओवादी नेता जोडिन थालेपछि सुन तस्करीको अनुशन्धान प्रचण्डको नेतृत्वमा, प्रहरी मुकदर्शक

यस कारण उच्चस्तरिय छानविन समिति बनाउँन मान्दैनन् माओवादी नेता

माओवादी नेता जोडिन थालेपछि सुन तस्करीको अनुशन्धान प्रचण्डको नेतृत्वमा, प्रहरी मुकदर्शक

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सय किलो सुन तस्करी प्रकरण आफनै नेतृत्वमा अनुशन्धान गराईरहेका छन्। सुन तस्करीको अनुशन्धान प्रधानमन्त्री कार्यालय अन्तर्गतको राजश्व अनुशन्धान विभागले गरिरहेको छ।

तस्करीको सञ्जालमा माओवादीका शीर्ष तहका नेताहरू नै पर्न थालेपछि प्रधानमन्त्रीकै चाहनामा राजश्व अनुसन्धान विभागबाटै सबै छानबिन गर्न खोजिएको छ । प्रमुख दुई प्रहरी अधिकृतको टसलका कारण भुटानी शरणार्थी प्रकरण नियन्त्रण गर्न नसक्दा बालकृष्ण खाण पक्राउ परेको घट्नाले दाहाल त्रसित छन्।

शरणार्थी प्रकरणमा कांग्रेस र एमाले नेता जस्तै सुन प्रकरण अनुसन्धान प्रहरीलाई जिम्मा लगाउँदा माओवादी नेताहरू पक्राउ पर्ने खतरा भएपछि यो प्रकरणमा प्रहरीलाई सुरक्षाका लागि मात्र परिचालन गरिएको छ। त्यो पनि सुन पक्राउ परेको निकै दिनपछि प्रहरीलाई पत्र काटेर सहयोग मागिएको थियो। त्यो सहयोग पनि औपचारिक्ताका लागि मात्रै खोजिएको प्रहरी अधिकारीहरु बताउँछन्।

सीआईबीले केही समयअघि भेपमा ल्याइएको ९ किलो सुनको अनुसन्धान गर्दा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोराको संलग्नता देखिएपछि क्वीन्टल सुनको अनुसन्धानमा प्रहरीलाई बाइपास गरिएको आशंका छ । सय किलो सुन प्रकरणमा तिब्बतियनमुलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेपछि यसको लहरो वर्षमान पुन र पूर्व सभामुख ओनसरी घर्तिसम्म पुगेको छ।

यो सवै प्रकरण वुझेका कारण सुन तस्करीको मुख्य गिरोह जोगाउने उद्देश्यले अहिले अनुसन्धानलाई गलत दिशामा लगिएको भन्दै नेकपा एमालेले उच्चस्तरीय छानबिन समितिको माग गरिरहेको छ। तर, माओवादी नेताहरु ‘नियमित अनुशन्धानबाटै सुनको मालिक भेटिन्छ’ भन्दै समिति वनाउन तयार भएका छैनन्।

सत्ता गठवन्धनको मुख्य दल नेपाली कांग्रेस यो प्रकरणमा मौन छ। नेपाली कांग्रेस भुटानी शरणार्थी प्रकरणमा जसरी गुमनाम थियो, सुन प्रकरणमा पनि त्यसैगरी गुमनाम छ। कांग्रेसको मौनता यतिसम्म छ की, क्रान्तिकारी भनिएका गगन थापा, प्रदिप पौडेल, मिनेन्द्र रिजाललगायतका नेतासमेत मुखमा टेप टाँसेर वसेको आरोप लाग्न थालेको छ।

यता, माओवादीमा भने सुन तस्कर जोसुकै भए पनि छोड्न नहुने भन्दै अध्यक्ष दाहालमाथि नेताहरुले दबाब दिन थालेका छन्। बुधवारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा नेताहरुले भ्रष्टाचारको विषयमा प्रश्न उठाएका छन् । पार्टी अध्यक्ष दाहाल नेतृत्वको सरकारले भ्रष्टाचारविरोधी अभियान चलाइरहेको बेलामा छानबिनको क्रममा सुई जता गए पनि छाड्न नहुने नेताहरुले बताएका छन् ।

उनीहरुले भ्रष्टाचार प्रकरणमा छानबिन गर्न कसैले हस्तक्षेप गर्न नहुने सुझाव दिएको एक नेताले बताए । ती नेताले भने, ‘पार्टीका नेताहरुको नाम त तोक्नुभएको छैन । तर, छानबिनको क्रममा जहाँसम्म सुई जान्छ, त्यहाँसम्म पुग्नुपर्छ । त्यसमा हाम्रो र अर्काको भनेर हुँदैन ।’

सुन तस्करी

विशेष