News

संसदीय सुनुवाई समितिको वैठकमा किन भावुक भए प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठ ?

संसदीय सुनुवाई समितिको वैठकमा किन भावुक भए प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठ ?

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वसम्मतरूपमा अनुमोदन गरेको छ ।

आज बसेको बैठकले संसदीय सुनुवाइपछि श्रेष्ठको नाम अनुमोदन गरेको हो । श्रेष्ठले संसदीय समितिसमक्ष न्यायपालिका सुधारका लागि आफ्नो कार्ययोजनासहित धारणा व्यक्त गरेका थिए ।

उनले न्याय सम्पादनलाई चुस्त र व्यवस्थित बनाउनका लागि १८ पन्ने योजना पेश गरेका थिए। संसदीय सुनुवाइका क्रममा श्रेष्ठ भावुक भएका थिए।

सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गरेपछि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएर भनाई टुंग्याउने क्रममा उनी भावुक भए। ‘यहाँहरुको सुझाव मैले मनमा राखेको छु, म काममा देखाउनेछु’ उनले गला अवरुद्ध बनाउँदै भने, ‘न्यायपालिका सुधारका लागि म कुनै कसर गर्ने छैन, यति भन्दै विदा हुन चाहन्छु ।’

न्यायालयको कुनै कालखण्डमा कुनै अप्ठेरो प¥यो भन्दैमा अदालतप्रतिको जनआस्था स्वाट्टै घट्यो भन्न नमिल्ने न्यायाधीश श्रेष्ठले बताए ।

उनले अदालतमा हुने विकृति र विसंगति तथा बिचौलियाप्रति शून्य सहनशीलता अपनाईने वताए। ‘बिचौलिया, विकृति र विसंगतिमा शून्य सहनशीलता अपनाउनेछु । अदालतमा अनावश्यक भिडभाड नियन्त्रण गर्ने कार्ययोजना रहेको छ,’ उनले भने, ‘त्यस्ता विकृति, विसंगति नियन्त्रणमा लाग्नेछु । अरु पनि विकृति नियन्त्रणमा कठोरताका साथ लाग्नेछु ।’

अदालतमा विकृति र विसंगति भएको कुरा सर्वोच्चका यसअघिका प्रतिवेदनले पनि औंल्याएको श्रेष्ठको भनाइ थियो । कायममुकायम प्रधानन्यायाधीश भएर सर्वोच्चको नेतृत्व सम्हालेदेखि नै अदालतमा हुने अनावश्यक भीडभाड नियन्त्रणका कदम चाल्न थालेको श्रेष्ठले बताए । उनले साउन २० देखि कायममुकायम प्रधानन्यायाधीशको कार्य गर्दै आएका छन् ।

काठमाडौं, भक्तपुर र ललितपुरका अदालतका न्यायिक र कर्मचारी नेतृत्वलाई बोलाएर टाइमकार्ड लागू गर्न निर्देशन दिएको र त्यो कार्यान्वयनमा आएको पनि श्रेष्ठले बताए । अदालतमा टाइमकार्ड लागू भइसकेको जानकारी दिँदै उनले आगामी दिनमा पनि बिचौलिया नियन्त्रण गर्ने ससना सुधारका कार्य पनि अगाडि बढाउने उनको प्रतिबद्धता थियो ।

विश्वम्भरप्रसाद श्रेष्ठ

विशेष