News

ब्यवसायीक पार्टनर वर्षमान पुन जोडिएपछि सुन प्रकरणमा बोल्नै नसक्ने भए सुनिल शर्मा

अनसन बस्ने धम्की आफ्नै लागि आत्मघाति भएपछि यूटर्न 

ब्यवसायीक पार्टनर वर्षमान पुन जोडिएपछि सुन प्रकरणमा बोल्नै नसक्ने भए सुनिल शर्मा

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले साउन १० गते प्रतिनिधि सभाको वैठकमा वोल्ने क्रममा सरकारले अवैध सुन भित्र्याउने नाइकेलाई अविलम्ब पक्राउ नगरे आमरण अनशन बस्ने घोषणा गरे।

उनले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा समेत मागे।  नेपालमा गैरकानुनी रुपमा सुन भित्रिएको प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको संलग्नता रहेको भन्दै उनले अनुशन्धानबाट क्लिनचिट नपाउँदासम्मको लागि दुवै जनाले राजिनामा दिनु पर्ने तर्क गरे।

‘कि त मुख्य नाइकेलाई पक्राउ गर्नसक्नुपर्यो होइन भने अनुसन्धानको प्रक्रियालाई सहज बनाउन राजीनामा दिनुपर्यो’ उनले भने–‘गाउँको भरियालाई मात्रै जेलभित्र कोचेर मुख्य नाइके नपक्रिने सोच राखे संसदमै अनशन वस्छु।’

यो घोषणापछि उनी निरन्तर मिडियामा छाईरहे। हुँदाहुँदा ‘जनता र सुशासनको पक्षमा आवाज उठाउँदा शीर्ष नेताहरूको डिजाइनमा आफूलाई सिद्याउन खोजिएको’ भन्न समेत भ्याए। ‘मलाई सिआईबी लगाएर, अनेक फाइल खडा गरेर कसरी यसलाई घेराबन्दी गरेर पक्राउन सकिन्छ भनेर लागिरहेका छन्’ उनले भने–‘तर मलाई यी चिजले कुनै फरक पर्नेवाला छैन। म सबै कुरा भोग्न÷बेहोर्न तयार भएको मान्छे हुँ । मलाई बाटामा हिँड्दाखेरी गोली पनि हान्न सक्छन्, म कहीँ मारिन पनि सक्छु । यो कुरा थाहा पाएर मेरो घरपरिवारलाई काउन्सिलिङ गरेर बसेको छु ।’

उनले आफु मृत्युवरण गर्न तयार भएर नेपाली जनताको पक्षमा आवाज उठाउन अगाडि सरेको वताएका थिए। तर, उनी निकट स्रोतले भने अर्थमन्त्री डा. महतले व्यक्तिगत स्वार्थअनुसार निर्णय नगरिदिएपछि उनी विस्फोट भएको जनाएको छ।

विस्फोटपछि उनी सेलाउन पनि थालेका छन्। पछिल्लो समय उनको गानाबजाना वन्द भएको छ। यसका पछाडि मुख्य गरी दुई वटा कारण देखिएका छन्। पहिलो माओवादी नेता वर्षमान पुनसँगको सम्वन्ध र दोस्रो आफनो विगत वाहिर आउने÷जेल जाने डर।

माओवादी नेता वर्षमान पुन शर्माका प्रिय मान्छे हुन। शनिबार तिब्बतियनमुलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेपछि वर्षमानको पनि नाम सुन तस्करी प्रकरणमा जोडिएको छ। पुनको नाम वाहिर आउने वित्तिकै शर्माको बोली मत्थर भएको छ।

स्रोतका अनुसार शर्मा र पुन व्यापारिक साझेदार समेत हुन् । वर्षमानको मोटो रकम शर्माले मेडिकल कलेजमा लगानी गरेका छन् । फरक पार्टीका भएपनि उनीहरुबीच घनिष्टता छ । उनै पुनमाथि सुन तस्करीमा छानबिनको माग हुन थालेपछि शर्माको मुख बन्द भएको हो ।

यतिमात्रै होईन, शर्मा र पुनको सम्वन्ध लामो छ। ०५९ सालमा डा. ज्ञानेन्द्र गिरीले विराटनगरमा नोबेल मेडिकल कलेज स्थापना गरे। २८ करोड लगानी गरेर स्थापना गरिएको कलेजलाई उनले सम्वन्धन दिलाउन सकेनन्। नोबेललाई सम्बन्धन दिलाउने सर्तमा सुनिल त्यसमा १६ प्रतिशत सेयर लिएर छिरे। डा. शेखर कोइरालामार्फत ०६४ सालमा उनले सम्बन्धन दिलाएको समयमै माओवादी नेता वर्षमान पुन र हरिवोल गजुरेलमार्फत शर्माले गिरीसहित नवराज पाण्डे, आदित्य खनाल, उमेश पाण्डे लगायतलाई अपहरण गरी काभ्रेको कामीडाँडा पुर्याएर मरणासन्न हुनेगरी पिटाए। 

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईको उपस्थितिमा वर्षमान पुन, सुनील र नोवेलका अन्य साझेदार राखेर दाहाल निवासमा छलफलका लागि विराटनगरबाट उनीहरुलाई काठमाडौं वोलाईएको थियो। तर, एयरपोर्ट छेउबाट ०६४ मंसिर १८ गते डा.गिरी, पाण्डे, आदित्य खनाल, उमेश पाण्डेलाई शर्माले वर्षमानलाई लगाएर वाइसिएलका तत्कालीन इन्चार्ज चन्द्रबहादुर थापा (सागर) मार्फत अपहरण गराएका थिए ।

यो घटनापछि सबै सञ्चालक नोबेलबाट अलग भए। त्यसपछि उनले साझेदारका रुपमा विराट अस्पतालका सञ्चालक डा. ज्ञानेन्द्रमानसिंह कार्कीलाई भित्र्याएर ५० प्रतिशत सेयर दिए । डा. कार्कीसँग उनको साझेदारी लामो समय टिकेन । त्यसपछि नोवेल एकलौटी बनाए। त्यसेला देखिनै शर्मा र पुनको घनिष्टता रहेको वताईन्छ।

अर्कोतर्फ शर्माको शैक्षिक प्रमाणपत्र पनि छानबिनको माग उठेको छ । उनले एमबिबिएस पढ्न आइएको नक्कली सर्टिफिकेट बनाएका थिए । उनले आइएस्सीमा कम नम्बर ल्याएपछि नक्कली सर्टिफिकेट बनाएर एमबिबिएस पढेको बताईन्छ। जून विषयमा सिआइबीले छानबिन गरेपनि दबाबकै कारण मुद्दा दायर रोकिएको थियो । यो प्रकरणले पनि शर्मा पछिल्लो समय चुपचाप बसेका स्रोतको दावी छ।

यतिमात्रै होईन, शर्माको एसएलसीको प्रमाण पत्रमा नै कतिपयले आशंका गर्ने गरेका छन्। पुर्ख्यौली घर मोरङ्गको लेटाङ भएका उनी त्यहाँ एसएलसी फेल भएका थिए। लेटाङमा माध्यमिक तह पढ्दा उनको नाम राजेन्द्र न्यौपाने थियो।

एसएलसी फेल गरेपछि कालीकोट गएका उनी सुनिल शर्माको नाममा एसएलसी प्रथम श्रेणीमा प्रमाण पत्र बोकेर फर्किएको वताईन्छ। शर्माको नक्कली शैक्षिक प्रमाण पत्र, ब्यवसायका नाममा देश र जनतालाई ठग्दै मालामाल हुने गतिविधि एवम् प्रतिनिधि सभामा उनको स्टन्टका विषयमा नेपाल आजले निरन्तर समाचार प्रकाशन गर्दै आएको छ।

शर्माले सुन प्रकरणमा देखाएको अस्वभाविक अग्रसरताका विषयमा पनि नेपाल आजले समाचार प्रकासन गरेको थियो। फेसबुकमा दुईमन्त्रीका विरुद्ध समाचार, अन्तर्वार्ताका लिंक शेयर गर्दै आएका उनले नेपाल आजले लगातार खवरदारी गरेपछि सामाजिक सञ्जालमा समेत त्यस विषयमा लेख्न छोडेका छन्।

यो पनि,

वर्षमान पुन सुनिल शर्मा सुन तस्करी

विशेष