News

निजामती कर्मचारीलाई विवाह विदा पनि दिने विधेयकको मस्यौदा तयार

निजामती कर्मचारीलाई विवाह विदा पनि दिने विधेयकको मस्यौदा तयार

निजामती कर्मचारीहरुले अव देखि विवाहका लागि पनि विदा पाउने भएका छन्। संघीय निजामती सेवा विधेयकको मस्यौदामा यस्तो ब्यवस्था गरिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन, कानुन मन्त्रालय, अर्थ मन्त्रालय, लोक सेवा आयोग हुँदै पुनः सामान्य प्रशासन मन्त्रालयमा आइपुगेको विधेयकको मस्यौदामा कर्मचारीलाई विवाह बिदा पनि दिने व्यवस्था छ। यसअघि कर्मचारीहरुलाई विवाह बिदाको व्यवस्था थिएन ।

कर्मचारीहरुले हालसम्म भैपरी आउने र पर्व बिदा, घर बिदा, विरामी बिदा, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, किरिया बिदा, अध्ययन बिदा, असाधारण बिदा र बेतलबी बिदा गरी ९ प्रकारका बिदा पाउँदै आएका छन् ।

अब यसमा विवाह बिदा पनि थपेर संघीय निजामती सेवाको विधेयक तयार पारिएको छ। यो विधेयक मन्त्रिपरिषदको विधेयक समितिले निर्णय गरेर संसदमा र संसदबाट संसदीय समिति हुँदै पुनः संसदबाट पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा कार्यान्वयनमा आउने छ।


मस्यौदामा निजामती सेवालाई समावेशी बनाउन थारु क्लस्टर पनि थप गरिएको छ । यसअघि थारुलाई अलग्गै क्लस्टर थिएन । थारुलाई आदिवासी जनजातीमा क्लस्टरभित्र राखिएको थियो ।

संघीय निजामती सेवा ऐन २०४९ मा निजामती सेवालाई समावेशी बनाउन खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये ४५ प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शतप्रतिशत मानी महिला, आदिवासी जनजाती, मधेशी, दलित, अपांग र पिछडिएको क्षेत्रको क्लस्टरमा छुट्टाछुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति हुने व्यवस्था छ । महिलामा ३३ प्रतिशत, आदिवासी जनजातीमा २७, मधेसीमा २२, दलितमा ९, अपांगमा ५ र पिछडिएको क्षेत्रमा ४ प्रतिशत आरक्षणको व्यवस्था छ ।

विशेष