News

विश्वप्रकाशलाई विष्णु रिमालको चेतावनीः ठट्टा महंगो पर्ला

उच्चस्तरीय आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिनका लागि बनाइएको रङ्गिन टालो

विश्वप्रकाशलाई विष्णु रिमालको चेतावनीः ठट्टा महंगो पर्ला

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन प्रकरण छानविन गर्न गठित आयोगलाई ‘लाज छोप्ने रंगिन टालो’ भनेपछि एमाले नेता विष्णु रिमाल आक्रोशित भएका छन्।

एमाले उपमहासचिव समेत रहेका रिमालले शर्माको नाम नलिई संवेदनशील विषयमा ठट्टा नगर्न चेतावनी दिएका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमा लेख्दै रिमालले छानबिन आयोग बन्ने सहमतिलाई ठट्टा गर्दा महँगो पर्ने चेतावनी समेत दिएका छन् । 

उनले स्ट्याटसमा सहमति भएको मसी सुक्न नपाउँदै गठबन्धनकै प्रभावशाली नेताले ‘सहमति विपक्षलाई छक्याउने रंगिन टालो’ भन्दै बिल्ला हान्नुले साथीहरूको नियतमा खोट भएको टिप्पणी गरेका हुन् ।

बुधबार सुन तस्करीको विषयमा छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने प्रमुख दलहरुबीच सहमति भएको थियो । सो सहमतिपछि बुधबार संसद् बैठकबाट बाहिरिँदै गर्दा महामन्त्री विश्वप्रकाश शर्माले सुन प्रकरणका लागि छानबिन गर्न बन्ने ‘उच्चस्तरीय आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिनका लागि बनाइएको रङ्गिन टालो’ भएको टिप्पणी गरेका थिए ।

शर्माको सोही भनाइप्रति रिमालले आपत्ति जनाएका हुन् । रिमालले बिजुली चुरोटको नाममा ल्याएको सुन पहिले छक्क्याउनु र लिलाम गरी ‘माल’किन्न प्रधानमन्त्रीको पार्टीका उपाध्यक्षको सहजीकरणमा परिवारका मानिस नै तम्सिएको र चुरोट त सुन पो रहेछ भन्ने सूचना लिक हुँदा नहुँदै सुन गायब पारिएको दाबी समेत गरेका छन् ।

रिमालले भनेका छन्, ‘अहिले यत्ति चाँहि भनौँ– मित्रहरू, यस्तो संवेदनशील विषयमा ‘ठट्टा’ नगरौँ, महँगो पर्छ है ?’

विशेष