News

कालिका नगरपालिकाले रवि लामिछानेलाई मोवाईल क्लिनिक चलाउन अनुमति दिएन

कालिका नगरपालिकाले रवि लामिछानेलाई मोवाईल क्लिनिक चलाउन अनुमति दिएन

चितवनको कालिका नगरपालिकाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं. २ का सांसद रवि लामिछानेलाई मोवाइल स्वास्थ्य क्लिनिक सञ्चालन गर्न अनुमति नदिने भएको छ।

लामिछानेले साउन २२ गते नगरपालिकाको स्वास्थ्य शाखा र २०८० साउन २५ गते नगरपालिकालाई पत्र लेखेर मोवाइल क्लिनिक सञ्चालनको अनुमति मागेका थिए। तर, नगरपालिकाले उनलाई त्यो अनुमति दिएको छैन।

मोवाइल क्लिनिक सञ्चालनका लागि आवश्यक कानून नभएको नगरपालिकाले लामिछानेलाई जवाफ दिएको छ। स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरणसम्बन्धी निर्देशिका २०७६ मा घुम्ती शिविर सञ्चालन गर्न दिने सम्बन्धमा कानूनी व्यवस्था नभएको र विषेशज्ञसहितको स्वास्थ्य शिविर सञ्चालनको अनुमति प्रदेशबाट लिनु पर्ने सुझाव लामिछानेलाई दिईएको स्वास्थ्य शाखाले जनाएको छ।

जनस्वास्थ्य सेवा नियमावली २०७७ को दफा ५ को उपदफा ६ अनुसार घुम्ती शिविर सञ्चालनको स्वीकृत दिने सम्बन्धी व्यवस्था रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद उपाध्यायले बताए।

प्रदेशबाट अनुमति लिए आफूहरुले सहजीकरण र समन्वय गर्न सक्ने उनको भनाइ छ ।

चितवन २ बाट जितेका सांसद लामिछानेले निर्वाचन जितेको एक सय दिन पुगेको अवसरमा गत साउन १६ गतेदेखि पुरानो मेडिकल कलेजका स्वास्थ्यकर्मीहरुको टिम लिएर निर्वाचन क्षेत्रमा मोवाइल स्वास्थ्य क्लिनिक चलाउँदै आएका छन्।

रवि लामिछाने

विशेष