News

ओलीको निषेधले माधव नेपाल हैरान

ओलीको निषेधले माधव नेपाल हैरान

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सर्वदलीय बैठकमा पनि आफ्नो पार्टीलाई निषेध गरेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकमा बोल्दै उनले सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न बोलाइएको सर्वदलीय बैठकमा ओलीकै कारण आफ्नो पार्टीलाई सहभागी नगराइएको गुनासो गरेका हुन्। 

‘ओलीले यो पार्टीको मतलब नै नराख्ने। हुँदाहुँदा हिजोअस्ती त संसदमा अरु सबै पार्टी हुन्छ। तर, एकीकृत समाजवादी पार्टी हुँदैन भनेर हामीलाई प्रस्तुत हुन दिएनन। र, त्यो सुनकाण्डको बारेमा भएको छानबिन कमिटीमा अरु सबै बसे ६ वटा पार्टी। राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भन्ने एउटा आधारमा टेकेर हामीलाई बोलाउँदा पनि बोलाएनन्,’ नेपालले भने।

‘अब हामी पनि सोचिरहेका छौं कि हामीले पनि केही गर्नुपर्छ। धेरै भलादमी पारेर हुँदैन। त्यसो हुनाले यो घ्यू निकाल्नका लागि औंलो अलि बाङ्गै गर्नुपर्दो रहेछ। त्यो बाङगो नगरेर हुँदो रहेनछ। संसार नै त्यस्तै छ। यो सबै अवस्था हामीले देखिरहेका छौं।’

संसदमा प्रतिनिधित्व गर्ने ६ वटा पार्टी सो बैठकमा सहभागी भएपनि ओलीले राष्ट्रिय मान्यता प्राप्त दल मात्रै बस्ने भनेर सो बैठकमा आफ्नो पार्टीलाई सहभागी नगराएको अध्यक्ष नेपालको जिकिर थियो। 
 

विशेष