News

सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाई भएन, पाकिस्तान जाने तयारी

सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाई भएन, पाकिस्तान जाने तयारी

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतमा पेसी तोकिए पनि सुनुवाइ हुन सकेन । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा ‘हेर्न नभ्याइने’ भन्दै पन्साइएको हो ।

नाबालिग बलात्कारको आरोपमा सन्दीपविरुद्ध गत कार्तिक १४ गते अदालतमा मुद्दा दायर भएको हो । उक्त मुद्दाको अन्तिम सुनुवाइका लागि आइतबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’मा परेको छ।

पण्डितको इजलासमा पाँचौँ नम्बरमा सन्दीपविरुद्धको मुद्दा सुनुवाइको पेसी थियो । तर चार वटा मुद्दा सुनुवाइ भए पनि पाँचौँदेखि तलका सबै मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेका हुन् ।

बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने मुद्दा पीडितको र उनको आमाको जन्म मितिको विवादसम्म पुगेको छ । सन्दीप लामिछानेले पीडितको जन्ममितिको शंकास्पद कागजात पेस गरेका थिए ।

सम्बन्धित निकायमा त्यो कागजात नभेटिएपछि गत सोमबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले सन्दीपलाई कागज गराई सम्बन्धित निकायबाट प्रमाणित विवरण मगाउनु भनी आदेश गरेका थिए ।


सन्दीपले जिल्ला अदालतमा कागज गर्दै ‘बयानका दिन कुनै शुभचिन्तकले आफूलाई त्यो कागजात दिएकाले प्रमाण हुने ठाँनी पेस गरेको’ जवाफ दिएका थिए । थप कागजात मगाउन नपर्ने भएपछि जिल्ला अदालतले आइतबार नै पेशी तोकेको थियो ।

मुद्दामा सुनुवाई नभएपछि लामिछाने पाकिस्तामा हुने एसिया कप खेल्न खेल्न आजै पाकिस्तान जाने चर्चा छ। १५ वरियताको नेपालले विश्व वरीयताको शीर्ष स्थानमा रहेको तथा उत्कृष्ट तीन मध्ये दुई ब्याट्सम्यान रहेको पाकिस्तानसँग बुधबार प्रतिस्पर्धा गर्दैछ।

एसिया कप २०२३ को उद्घाटन खेलमा पाकिस्तानसँग खेल्दा नेपालले इतिहास बनाउनेछ। नेपालले विश्वको शीर्ष वरीयताको टिमसँग पहिलो पटक खेल्नेछ। एसिया कपमा भिड्नुअघि अहिले नेपाल पाकिस्तानको कराँचीमा अन्तिम तयारी गरिरहेको छ। त्यहाँबाट घरेलु टिम पाकिस्तानसँगको खेलका लागि नेपाली टिम मुल्तान पुग्नेछ।

एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालले पाकिस्तान र भारतसँग भिड्नेछ। 

सन्दीप लामिछाने

विशेष