News

क्रिकेटर सन्दीप लामिछानेले अदालतमा पेश गरेको कागजात शंकास्पद, आजदेखि सुनुवाई हुने

क्रिकेटर सन्दीप लामिछानेले अदालतमा पेश गरेको कागजात शंकास्पद, आजदेखि सुनुवाई हुने

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार सम्वन्धि मुद्दामा आजदेखि अन्तिम सुनुवाई हुने भएको छ। यो घटना भएको एक वर्ष र अदालतमा मुद्दा पुगेको नौ महिना बितिसक्यो। मुद्दा अन्तिम सुनुवाइमा पेसीमा चढ्न थालेको पनि सात महिना पुगेको छ।

तर, बहस सुन्ने र फैसला सुनाउने आँट अहिलेसम्म कुनै न्यायाधीशहरूले गर्न सकेका छैनन्। यो प्रकरण बलात्कार होकी होईन भन्नेमा भन्दा पनि पीडित र उनकी आमा कति वर्षका भए ? भन्ने कुरामा रुमलिदै आएको छ। पछिल्लो पेसीमा पनि अदालतले पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दियो। 

यो विवाद सुरू गरेको भने सन्दीप लामिछानेले नै हो। उनले पीडित नाबालिग नभएको भन्दै अदालतमा एउटा कागज पेस गरेका थिए। त्यही कागजात हेरेर अदालतले सम्बन्धित वडाबाट कागजात मगाएको छ। 

सम्बन्धित निकायमा त्यो कागजात नभेटिएपछि गत सोमबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले सन्दीपलाई कागज गराई सम्बन्धित निकायबाट प्रमाणित विवरण मगाउनु भनी आदेश गरेका थिए ।

सन्दीपले जिल्ला अदालतमा कागज गर्दै ‘बयानका दिन कुनै शुभचिन्तकले आफूलाई त्यो कागजात दिएकाले प्रमाण हुने ठाँनी पेस गरेको’ जवाफ दिएका थिए । थप कागजात मगाउन नपर्ने भएपछि जिल्ला अदालतले आइतबार नै पेशी तोकेको हो । फेरि इजलासले कुनै प्रमाण मगाउन आवश्यक नठानेमा आइतबारदेखि मुद्दामाथि निरन्तर सुनुवाइ हुनेछ ।

सन्दीपले पीडितको जन्मदर्ता रहेको भनिएको वडा कार्यालयको कागजात पेस गर्दै उनको जन्ममिति १८ जेठ २०६२ भनी दाबी गरेका थिए । घटना भएको दिन पीडित १८ वर्ष पुरा गरेकी बालिग रहेको भन्ने दावी गर्न सन्दीपले उक्त कागजात पेस गरेका हुन ।

सम्बन्धित वडा कार्यालयले सन्दीपको दाबी अनुसारको विवरण त पठाएको छ, तर पीडितको जन्मदर्ताको फारम र अभिलेख आफूकहाँ नभएको दाबी गरेको छ । 

जिल्लामा अभिलेख नै नरहेको कागजात पेश गरेकोमा गत साता इजलासले प्रश्न पनि उठायो। सन्दीप लामिछानेले जिल्ला अदालत, काठमाडौंमा गौशाला–२६ जन्मदा अस्पतालको दर्ता किताब भनी पेश गरेको कागजातमा जन्म मिति १८ जेठ २०६१ उल्लेख गरिएको छ। त्यो कागजात समेत शंकास्पद भेटिएको छ।

उक्त दर्ता कितावको विवरण भिडाउदा पीडितको आमाको नाममात्रै मिल्छ, थर मिल्दैन । पीडितले प्रहरीमा दिएको जाहेरीमा ५ भदौं २०७९ मा क्रिकेटर सन्दीप लामिछानेले आफूलाई होटलमा लगेर जबर्जस्ती गरेको उल्लेख छ । 

यो पनि,

सन्दीप लामिछाने

विशेष