ललिता निवास जग्गा प्रकरण सङ्गठित अपराधमा मुद्दा चलेनः ४ पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध किर्तेमा मुद्दा
ललिता निवास परिसरको जग्गा हिनामिना प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले २९० जनाविरुद्ध मुद्दा हालेको छ। किर्ते गरेर जग्गा हत्याएको भन्दै सो जग्गा जफत र बिगोसहित मागदाबी गर्दै मुद्दा दायर गरिएको हो।
बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चार पूर्वमन्त्री, ६ पूर्वसचिवसहित २९० जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो।
उनीहरूमाथि किर्तेमा मुद्दा दायर भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले किर्ते र सङ्गठित अपराधमा मुद्दा चलाउनुपर्ने राय दिए पनि सरकारी कागजात किर्ते गरेको अभियोगमा मात्र मुद्दा चलाएको हो।
यो प्रकरणमा १८ अर्ब बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ। मुलुकी ऐन, २०२० अनुसारको बिगो दाबी माग गरिएको हो।
जिल्ला अदालत काठमाडौंमा किर्तेमा मात्रै मुद्दा दर्ता भएको छ। सरकारी वकिल कार्यालयका एक वकिलले भने, ‘सङ्गठित अपराधमा मुद्दा चलाउनका लागि प्रमाण नपुग्ने भएकाले किर्तेमा मात्र मुद्दा चलाइएको हो।’