News

बलात्कार मुद्दाको सुनुवाई नभएपछि पाकिस्तान उडे सन्दीप लामिछाने

बलात्कार मुद्दाको सुनुवाई नभएपछि पाकिस्तान उडे सन्दीप लामिछाने

आईतबार तोकिएको मुद्दाको सुनुवाई नभएपछि क्रिकेटर सन्दीप लामिछाने एसिया कप खेल्न पाकिस्तान गएका छन्। 

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी आज बिहान पाकिस्तान उडेका हुन्। उनलाई बिदाइ गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ विमानस्थल पुगेका थिए। 

बलात्कार मुद्दा खेपिरहेका लामिछाने आइतबार पेसी भएका कारण टोलीसँगै पाकिस्तान जान पाएका थिएनन्। तर हिजो पेसीमा चढे पनि मुद्दाको सुनुवाइ सुरु नभएपछि उनी आज पाकिस्तान प्रस्थान गरेका हुन्।

राष्ट्रिय क्रिकेट टोलीका अन्य सदस्य भने भदौ ५ गते नै पाकिस्तान पुगिसकेका छन्। १५औं वरियताको नेपालले विश्व वरीयताको शीर्ष स्थानमा रहेको तथा उत्कृष्ट तीन मध्ये दुई ब्याट्सम्यान रहेको पाकिस्तानसँग बुधबार प्रतिस्पर्धा गर्दैछ।

एसिया कप २०२३ को उद्घाटन खेलमा पाकिस्तानसँग खेल्दा नेपालले इतिहास बनाउनेछ। नेपालले विश्वको शीर्ष वरीयताको टिमसँग पहिलो पटक खेल्नेछ। एसिया कपमा भिड्नुअघि अहिले नेपाल पाकिस्तानको कराँचीमा अन्तिम तयारी गरिरहेको छ। त्यहाँबाट घरेलु टिम पाकिस्तानसँगको खेलका लागि नेपाली टिम मुल्तान पुग्नेछ।

एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालले पाकिस्तान र भारतसँग भिड्नेछ। 
 

सन्दीप लामिछाने

विशेष